पर्वत, ३० साउन
गत आर्थिक वर्ष २०८०/०८१ मा पर्वतमा विभिन्न चार प्रकारका एक सय ५५ वटा प्राकृतिक विपद्का घटना भएका छन् । जसमा पाँच जनाको मृत्यु भएको तथा ६० लाख भन्दा बढी मूल्य बराबरको क्षति भएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत व्यवस्थापन समितिका संयोजक केदारनाथ शर्माका अनुसार एक वर्षको अवधिमा बाढी पहिरोका ९९, आगलागीका ४१, करेन्ट लागेका पाँच र चट्याङका १० वटा घटनाहरू भएका छन् । यी मध्येका बाढी पहिरोमा परेर चार जना र आगलागीमा परेर एक जना गरी पाँच जना मृत्यु भएको छ । आगलागीबाट दुई, करेन्टबाट तीन र चट्याङ लागेर सात जना गरी १२ जना घाइते हुँदा बाढी पहिरोमा परेर एक जना बेपत्ता रहेका छन्।
पशुपक्षीतर्फ बाढी पहिरोमा १०, आगलागीमा १८ र चट्याङमा दुई गरेर ३० वटाको मृत्यु भएको छ । भौतिक क्षतितर्फ करिब ६० लाख ७५ हजार रुपैयाँ बराबर रहेको प्रहरीले विवरण सङ्कलन गरेको छ ।
बाढी पहिरोबाट ६० लाख ३० हजार, आगलागीबाट ३१ हजार र चट्याङबाट १४ हजार रुपैयाँ बराबरको क्षति भएको छ । बाढी पहिरोमा परेर ७० वटा घर, ११ वटा गोठ र १८ वटा अन्य संरचनामा, आगलागीबाट १२ वटा घर, ११ वटा गोठ र १८ वटा अन्य संरचनामा, करेन्टबाट दुई वटा अन्य संरचनामा र चट्याङबाट सात वटा घर, तीन वटा गोठ गरी १० वटामा क्षति भएको शर्माले जानकारी दिनुभयो ।
शर्माले जिल्लामा हुने गरेका विपद्का घटना न्यूनीकरण गर्न स्थानीय सुरक्षा निकाय तथा स्थानीयबासीहरुको सहयोगमा विपद् प्रतिकार्यका लागि सकेसम्मको मिहिनेत गरिरहेको बताउनुभयो ।
जिल्लामा बिपद्का घटनाहरू बर्षेनी बढ्दै गएपनि स्थानीय सरकारहरूले ठोस योजना बनाउन सकेका छैनन् । पर्बत जिल्लाका सात स्थानिय तह मध्ये मोदी गाउपालिकाले मात्रै विपद् प्रतिकार्य योजन निर्माण गरेर बिपद् ब्यबस्थापन तथा सहयोग गर्दै आएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले बिपद्का हरेक घटनालाई ब्यवस्थापन गर्नका लागि पालिकामा बनेको बिपद् प्रतिकार्य योजनालाई आधार मानेर काम गर्दै आएको बताउनुभयो । जलजला गाउपालिकाका विपद् फोकल पर्सन चित्रानाथ आचार्यका अनुसार हाल सम्म विपद् ब्यबस्थापन योजना नबनको र आर्थिक सहायता कार्यबिधिलाई आधार मानेर बिपद्का घटनाबाट पिडितहरूलाई सहयोग गरिदै आएको बताउनुभयो ।
कुश्मा नगरपालिकाका विपद् फोकल पर्सन मञ्जु शिलाकारका अनुसार नगरपालिकाले विपद् पुर्वतयारी प्रतिकार्य योजना निर्माण नगरेको र व्यवस्थापनका सन्दर्भमा गण्डकी प्रदेशले निर्माण गरेको कार्यविधि अनुसार काम गर्दै आएको बताउनुभयो ।
अन्य महाशिला, विहादी, पैञ्यु गाउँपालिका र फलेवास नगरपालिकाले पनि विपद् व्यवस्थापन तथा पुर्व तयारी प्रतिकार्य योजना निर्माण गरेका छैनन् ।
कतिपय पालिकाहरूले जिल्ला विपद् ब्यबस्थापन समितिले निर्माण गरेको जिल्ला विपद् प्रतिकार्य योजनालाई आधार मानेर काम गरिरहेको प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताउनुभयो ।
नेपाल सरकारको स्थानीय सरकार सञ्चालन एन २०७४ को दफा ११ बमोजिम् सबै स्थानीय तहहरूले बिपद् पुर्बतयारी तथा प्रतिकार्य योजना बनाउनुपर्ने प्राबधान रहेको छ ।









