पर्वत, १९ फागुन — प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पर्वत मा प्रमुख राजनीतिक दलका उम्मेदवारहरूले बाँदर नियन्त्रणलाई साझा चुनावी एजेण्डा बनाएका छन्। बाँदरका कारण खेतीपाती नष्ट हुनुका साथै बस्ती नै खाली हुने अवस्था आएपछि उम्मेदवारहरूले कानून संशोधनमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार पदम गिरी, नेपाली कांग्रेस का अर्जुन प्रसाद जोशी, नेपाल कम्युनिष्ट पार्टी का मनोहरि तिमिल्सिना र राष्ट्रिय स्वतन्त्र पार्टी का सागर भूसाल ले आ–आफ्ना चुनावी सभामा बाँदर नियन्त्रणका लागि विद्यमान कानून संशोधन आवश्यक रहेको बताएका छन्।
स्थानीयवासीका अनुसार बाँदरको बिगबिगीले मकै, कोदो, गहुँ लगायतका बालीमा ठूलो क्षति पुर्याउँदै आएको छ। फलेवास नगरपालिका ६ का विनोद भूसालले बाँदर आतंककै कारण कतिपय घरधुरी विस्थापित हुने अवस्थामा पुगेका छन्।
उम्मेदवारहरूले वन्यजन्तु संरक्षण र स्थानीय बासिन्दाको सुरक्षाबीच सन्तुलन मिलाउने गरी नीति निर्माण गरिने बताएका छन्। समस्या दीर्घकालीन रूपमा समाधान गर्न कानुनी व्यवस्था परिमार्जन, क्षतिपूर्ति प्रबन्ध तथा नियन्त्रणका व्यवहारिक उपाय अवलम्बन गरिने उनीहरूको भनाइ छ। बाँदर नियन्त्रणको मुद्दा यसपटक पर्वतको चुनावी बहसको मुख्य विषय बनेको छ।
प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन फागुन २१ गते हुँदैछ। पर्वतका १३ वटा राजनीतिक दलवाट १३ जना उम्मेदवार चुनावी मैदानमा छन् । घरदैलो, भेटघाट र जनसंवादका क्रममा सवैजसो उम्मेदवारसँग मतदाताले बाँदर नियन्त्रणको माग टक्राएका छन् ।









