पर्वत १९ माघ
हिजो आइतबार माघ शुल्क पूर्णिमा । पूर्णिमाको दिन पर्वतका धेरै जसो स्थानमा ८४ बर्ष कटेका बृद्धबृद्धाहरुको सहस्र चन्द्रमा दर्शन तथा चौरासी पुजा थियो । चुनाव प्रचारप्रसार अभियानमा रहेका पर्वतका उम्मेदवारहरु हिजो आफ्ना अन्य कार्यक्रम यथावत राखेरै भएपनि मतदाता भेट्नकै लागि ती चौरासी पुजामा पुग्न प्रयत्न गरे ।
मुख्यगरी पर्वतमा अग्रपंक्तिमा देखिएका नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले मतदाता भेटघाट कार्यक्रम तिब्र पारेका छन् । सोही अनुरुप माघ १८ मा पूर्णिमाको दिन यी उम्मेदवारहरु चौरासी पुजामा नै व्यस्त भए । भदौ २३, २४ अघि सम्म मिसन ८४ भनेर प्रचारप्रसार गरिरहेका दलका उम्मेदवारहरु २०८२ को आसन्न निर्वाचनमा नै ‘मिसन चौरासी’ का रुपमा दौडधुप गरेको देखिन्थ्यो । कतिपय उम्मेदवारहरु निम्तो पाएर पुग्नै पर्छ भन्ने हेतुले दौडधुप गरिरहेका थिए भने कतिपय पुजा भएका स्थानमा मतदाताको जम्मा हुन्छ पुग्नै पर्छ भन्ने आसयले भ्याइनभ्याई थियो ।
मतदाता भेट्न मात्रै नभई ८४ बर्ष उमेर कटेका बृद्धबृद्धाहरुको आशिर्वाद ग्रहणका लागि आफु जिल्लाका १० भन्दा बढी चौरासी पुजा भएका स्थानमा पुगेको नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार बनेका पदम गिरीले बताए । उनले कुश्मा नगरपालिका भित्र विभिन्न ९ स्थान र फलेवास नगरपालिकाको १ स्थान गरी १० स्थानमा आशिर्वाद लिएको बताए ।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार अर्जुन जोशी पनि विभिन्न ९ स्थानमा पुगेर मतदाता भेटघाट तथा बृद्धबृद्धा सँग आशिर्वाद ग्र्रहण गरेको सुनाए । उनले प्रचारप्रसारको कार्यक्रम सँगै पुर्णिमाको दिनमा चौरासी पुजामा पुगेर भेटघाट गरेको बताए ।

यसै गरी चौरासी पुजामा पुग्ने मतदाता भेट्ने र आशिर्वाद लिनेमा रास्वपाका सागर भूसाल र नेकपाका मनोहरि तिमिल्सिनाको दौडधुप पनि कम्ति थिएन ।

पर्वतमा नेकपा एमालेका गिरी र नेपाली कांग्रेसका जोशी विगत ०७४ साल देखि संघीय निर्वाचनमा आम्नेसाम्ने छन् । ०७४ र ०७९ सालमा गिरीले नेपाली कांग्रेसका उम्मेद्वार जोशीलाई पराजित गराएका थिए । यसो त अर्जुन जोशी विगत ०५६ साल देखि ०७४ अघि सम्म पर्वतको राजनीतिमा स्थापित नेता हुन् । २०५६, २०६४ र २०७० मा लगातार जीत हासिल गरेका जोशी ०७४ पछि पराजित यात्रामा छन् । अहिले यी दुवैलाई चुनौतीका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर भूसाल र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनोहरी तिमिल्सिना खडा भएका छन् । यद्यपि चुनावी परिणाम के आउला भन्न सकिने अवस्था नभएपनि अहिले पर्वतमा मुख्यगरी यी चार दल बीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ ।
गाउँ गाउँमा चुनावी रौनक, बजार सुनसान
अहिले पर्वतमा राजनीतिक दलहरु शान्तिपूर्ण रुपमा चुनावी प्रचारप्रसार अभियानमा होमिएका छन् । पर्वतको मुख्य बजारका रुपमा परिचित सदरमुकाम कुश्माबजार सुनसान जस्तै बनेको छ । विगतमा चुनाव हुने वा नहुनेमा दोधारमा परेर चिया गफमा भुल्नेहरु पनि अहिले बजारमा भन्दा गाउँ गाउँमा उम्मेदवारकै पछि देखिन्छन् ।
सदरमुकाम भन्दा बाहिरका स्थानहरुमा उम्मेदवारहरु पुग्ने र मतदाता भेटघाटमा व्यस्त भएपछि बजारमा चियोचर्चो गर्ने पंक्ति अहिले निष्क्रिय जस्तै बनेको छ । पर्वतमा शुरुवातमा नेकपाले आफ्नो प्रचार अभियानलाई अघि बढाएको थियो भने तत्पश्चात् रास्वपा, नेपाली कांग्रेस हुँदै नेकपा एमालेले माघ १९ देखि प्रचार अभियानलाई तिब्रता दिएको छ । जिल्लामा राजनीतिक क्षेत्रमा चासो राख्ने र विगतमा निर्वाचन अगावै जीत हारको समिक्षा गर्ने व्यक्तिहरु अहिले सहजै अनुमान गर्न नसकिने तर्क गर्छन् ।








