मुस्ताङ, साउन १। मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैलेस्थित जोमसोम–कोरला सडक खण्डअन्तर्गत घ्याकर खोलामा लेदो सहितको बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। शुक्रबार साँझ करिब ६ बजे आएको बाढीले सडक अवरुद्ध बनाएपछि प्रहरीले उक्त सडक खण्ड प्रयोग नगर्न सबै यात्रु तथा सवारी चालकलाई अनुरोध गरेको छ।
गर्मीको मौसमसँगै मुस्ताङ, लोमान्थाङ तथा नेपाल–चीन सीमास्थित कोरला नाका अवलोकन गर्न जाने आन्तरिक तथा बाह्य पर्यटकको चाप उल्लेखनीय रूपमा बढिरहेका बेला सडक अवरुद्ध हुँदा सयौं यात्रु प्रभावित भएका छन्। विशेषगरी भारतबाट आएका पर्यटकहरू विद्युतीय (इभी) सवारी साधनमार्फत यात्रा गर्ने भएकाले उनीहरू समेत विभिन्न स्थानमा रोकिएका छन्।
इलाका प्रहरी कार्यालय, जोमसोमका वरिष्ठ प्रहरी हवल्दार महेन्द्र परियारका अनुसार यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै दुवैतर्फका सवारी साधनलाई सुरक्षित स्थानमा रोकिएको छ।
उहाँले भन्नुभयो, “घ्याकर खोलामा लेदो सहितको बाढी आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। अहिले लोमान्थाङ र कोरलातर्फ रहेका सवारी साधनलाई लोमान्थाङमै होल्ड गरेका छौं। तलबाट माथि जाने सवारी साधनलाई कागबेनी र घमी क्षेत्रमा रोकेका छौं। सडकको अवस्था सामान्य नभएसम्म कुनै पनि सवारीलाई जोखिम मोलेर आवतजावत गर्न दिइने छैन।”
प्रहरीका अनुसार बाढीको बहाव र खोलामा आएको लेदोका कारण सडकमा ठूलो परिमाणमा माटो तथा ढुंगा थुप्रिएको छ। सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको भए पनि बाढीको अवस्था र मौसममा सुधार आएपछि मात्र सफाइको काम प्रभावकारी रूपमा अघि बढ्ने जनाइएको छ।
यस घटनापछि मुस्ताङ भ्रमणमा रहेका पर्यटकलाई सुरक्षित स्थानमै बस्न, अनावश्यक यात्रा नगर्न तथा स्थानीय प्रशासन र प्रहरीबाट जारी हुने सूचनालाई पालना गर्न आग्रह गरिएको छ। मौसममा अझै वर्षाको सम्भावना रहेकाले खोलानाला आसपासको क्षेत्रमा विशेष सतर्कता अपनाउन पनि प्रशासनले अनुरोध गरेको छ।
प्रहरीले सडक पूर्ण रूपमा सञ्चालनमा आएको आधिकारिक सूचना नआउँदासम्म जोमसोम–कोरला सडक खण्डमा यात्रा नगर्न आग्रह गर्दै यात्रुहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको जनाएको छ। स्थानीय प्रशासन, प्रहरी र सम्बन्धित निकायले सडक खुलाउने प्रयास जारी राखेको भए पनि मौसम अनुकूल भएपछि मात्र यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।








