पर्वत, १० पुस : जिल्ला प्रहरी कार्यालय पर्वतले चालु आर्थिक बर्षमा फरार अभियुक्त खोजि कार्य अभियान सञ्चालन गरेको छ । अभियान सञ्चालन सँगै पर्वतमा १८ बर्ष देखि ४ दिन सम्मको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरु प्रहरीको फन्दामा परेका छन् ।
पर्वत जिल्ला अदालतवाट कैद सजाय तथा दण्ड जरिवाना तोकिएर पनि फरार रहेका अभियुक्तहरु अहिले धमाधम नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार १८ बर्ष अघि जबजस्ती करणी मुद्धामा पर्वत जिल्ला अदालतले दोषी ठहर गरी १३ बर्ष कैद सजाय सुनाइएका पर्वतको पैयु गाउँपालिकाका भिमबहादुर सुनारलाई हालै पक्राउ गरेको हो । पछिल्लो समय फरार सुचीमा रहेर पक्राउ परेका अभियुक्त मध्ये सुनार सवैभन्दा धेरी कैद सजाय र लामो समय सम्म फरार रहेका अभियुक्त हुन् ।
नियन्त्रणमा परेका अभियुक्तहरु मध्ये ९ जना महिला रहेका छन् भने ५० जना पुरुष रहेका छन् । जस अन्तर्गत २२ जना चेक अनादार, २ जना जबजर्स्ती करणी, २ जना भ्रष्टाचार, ४ जना अभद्र व्यवहार, १ जना ज्यान चोरी, १० जना सार्वजनिक अपराध, २ जना बैंकिङ कसुर, ४ जना लागु औषध, ३ जना सवारी ज्यान, २ जना पशु सम्बन्धि अपराध, २ जना लेनदेन , ४ जना चोरी र १ जना नागरिकता किर्ते मुद्धाका फरार अभियुक्तहरु रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरिक्षक रामप्रसाद सापकोटाले जानकारी दिए । नियन्त्रणमा लिएका फरार अभियुक्तहरुबाट पर्वत प्रहरीले २४ बर्ष १० महिना १९ दिन कैद सजाय र २२ लाख २१ हजार ७ सय ७४ दण्डजरिवाना असुल उपर गरेको मुद्धा शाखाका प्रहरी सहायक हवल्दार दिनेश शर्माले जानकारी दिए ।
पछिल्लो पौष महिनामा मात्रै ३० जना फरार अभियुक्तहरु पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसरी पक्राउ गरिएका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पर्वत जिल्ला अदालतमा बुझाएर कानून बमोजिम कार्बाहीका लागि अनुरोध गरिएको प्रहरी नायव उपरिक्षक रविन विष्टले जानकारी दिए । पछिल्लो समय सहकारी ठगी सम्बन्धि मुद्धामा आरोपित व्यक्तिहरु फरार रहेको र प्रहरीको सर्च अभियानमा नियन्त्रणमा आइरहेका छन् । कतिपय सर्वसाधरणहरुले ठगी मुद्धाका आरोपितहरु खुलेआम हिडिरहेको गुनासो गरिरहेका बेला प्रहरीको यो अभियानले राहत महसुस गरेका छन् । एउटै मुद्धाका आरोपितहरु कोही कारागारमा पुर्पक्षका लागि थुनामा रहनु र सोही मुद्धाका आरोपित कोही खुलेआम हिड्नुले थुनामा रहेका व्यक्तिका आफन्तहरुले पनि अन्याय महसुस गरिरहेका थिए ।
अदालतबाट कैद तथा जरिवाना तोकिएकोमा निरन्तरको खोजतलासपछि फरार रहेका अभियुक्तहरूलाई जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटहरूबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनको लागि पर्वत जिल्ला अदालतमा पेस गरिएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।








