पर्वत, १७ चैत
पर्वतको कुश्मा नगरपालिका १ स्थित मध्यपहाडी राजमार्गको मालढुङ्गा खण्डमा प्रहरी चेकजाँचका क्रममा भाग्दै गर्दा एक युवा कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका छन्।
सोमबार राति ८ बजेको समयमा जलजला गाउपालिका ८ का २५ बर्षिय बिशाल बिक बेपत्ता भएका हुन् । ग १ क ५२४४ नम्मरको टिप्परमा रहेका दुई युवालाई मालढुङ्गामा रहेको प्रहरी पोष्टका सुरक्षाकर्मीले चेकजाँच गर्दै गर्दा दुई युवा कालीगण्डकी नदी तर्फ भागेका थिए । सोही क्रममा एक युवा फरार भएपनि बिक भने नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय पर्बतका प्रहरी निरीक्षक बिजय यादबले जानकारी दिनुभयो ।
घटनापछि युवकको अवस्था अज्ञात रहेको छ। उनको खोजीका लागि सशस्त्र प्रहरी बल चण्कोडिका गण अन्तरगतको म्याग्दीबाट आएको गोताखोर टोली परिचालन गरिएको छ।
यता, बेपत्ता युवाका आफन्तहरूले प्रहरीकै कारण युवक आत्तिएर नदीमा हाम फालेको आरोप लगाउँदै केही समय राजमार्ग अवरुद्ध गरेका थिए। पछि वार्ता पश्चात राजमार्ग पुनः सुचारू भएको छ।









