पर्वत ५ असार
पर्वत अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि संगै अस्पतालले शुक्रबारदेखि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेको छ ।
पर्वत अस्पतालले बिज्ञप्ती प्रकाशित गर्दै संक्रमण पुष्टि भएको जानकारी दिएको छ । पर्वत अस्थायी कोरोना अस्पतालमा संक्रमितको उपचारमा संलग्न डाक्टर सहितका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको जिल्ला अस्पताल पर्वतका डाक्टर शिशिर देवकोटाले जानकारी दिनुभयो । जेठ २० गते पहिलो पटक संक्रमण पुष्टि भएपछि कोरोना अस्थायी अस्पतालमा एक हप्ता खटिएका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको बुझिएको छ । कोरोना अस्पतालमा कार्यरत ७ जनाको नमुना परिक्षण गरिएकोमा ५ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना अस्पतालमा एक हप्ता बिताइएपछि उनीहरु अहिले पनि क्वारेन्टाइनमा नै रहेको बताइएको छ ।
जिल्ला अस्पताल पर्वतमा इमर्जेन्सी सेवा भने सञ्चालन रहने विज्ञप्ति मार्फत जानकारी गराइएको छ । स्वास्थ्यकर्मीलाई संक्रमण देखिएपछि जिल्ला स्तरीय कोरोना रोकथाम तथा व्यवस्थापन समितिको बैठक बसेर थप निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।









