
चन्द्रबहादुर क्षेत्री (अधिबक्ता)
महाशिला गाउँपालिकाका अध्यक्षज्यूले महाशिला गा.पा. वडा नं. ५ वनपाखेमा पर्ने बिशाल महाशिलालाई १०८ फिटको अर्धनारेश्वर महादेवको मूर्ति कुद्ने कामको शुरुवात हुदैछ भनि सामाजिक सञ्जाल मार्फत राय सुझाव माग्नु भएको रहेछ । मलाई पनि सुझाव दिन मन लाग्यो । मेरो रायमा असहमत हुन पाउने कुरालाई मैले अन्यथा र असहज ठान्दिन । यस शिलाको बिकासको लागि मैले पनि योगदान पुर्याइ आएको स्थानीय उपभोक्ता समेत भएको हुँदा मलाई चासो हुनु स्वभाविक पनि हो ।
सर्वप्रथम यस शिलाको हालसम्म उजागर भएका तथ्यको बारेमा उल्लेख गर्न चाहन्छु । महाशिला जमिनको सतहमा उभिएको अवस्थामा १,३०,००० घन मिटर रहेको संसारकै सवैभन्दा ठूलो पवित्र महाशिला हो । (स्रोतः साविक जिल्ला विकास समिति, पर्वत पर्यटन गुरुयोजना तर्जुमाको क्रममा भएको फिल्ड सर्भे) यस महाशिलाको महिमा बिस्तारै बृद्धि हुँदै गएको छ । यसै शिलाको नामबाट संघिय संरचना हुँदा यसै शिलाको नामबाट महाशिला गाउँपालिकाको नाम राखिनुले पनि शिलाको महत्वमा बृद्धि गरेको छ । महादेव शिवले सवै दुष्टहरुलाई नाश गर्ने क्रममा पृय वाहन नन्दीको रुपमा विशालकाय रुपधारण गरेर आई सवै दुष्टहरुलाई नाश गर्ने क्रममा युद्धमा नन्दीको एउटा सिङ भाँचिएकाले त्यस रुपलाई पत्थर शिलाको रुपमा छाडीएको स्थल, जसले प्रसादीको रुपमा खीर पकाउन अग्नीमा राखी यो शिलालाई परिक्रमा गरी पुजा–आर्चना गरी शीलालाई अर्पण गरी खीर आफूले पनि ग्रहण गर्ने र अन्यलाई पनि वाँड्ने गर्नाले मनोकाँक्षा पुरा हुने भनी महादेव शिव अन्तरध्यान भएको स्थल महाशिला हो भन्ने आख्यान पाइन्छ । स्थानीय शरणबिक्रम मल्लले गर्नु भएको अध्ययनमा तत्कालिन अवधिमा धुँवाकोटका राजाले महाशिलाको परिक्रमा गरी युद्ध गर्दा विजय प्राप्त गरेका, साक्षत देवादी देव महादेव शिवको यो एक रुप हो । पवित्र महाशिलामा भगवान शिवको नित्य पूजा अर्चना पछि शिलाको पिधंबाट निर्मल जल उत्पन्न भएको छ, जुन जल शेचन गर्दा पवित्र भइन्छ । बिजय प्राप्त हुन्छ भन्ने भनाई पाइन्छ । शिलालाई एक फन्को मार्न एकमाईल हिड्नु पर्ने हुँदा एकमील हुदै मेल ढुँगा नाम भएको भन्ने भनाई पनि छ । महाशिला दिदी र सेतिबेनी कि शिला बहिनी हुन पनि भनिन्छ । महाशिलाका यि र यस्तै विभिन्न आख्यानहरु रहेका छन् । महाशिलालाई जे जसरी बुझेता शिला आँफैमा सामान्य हैनन, अलौकिक बरदान हुन्, बिश्व सम्पदाको सूचीमा पर्न सक्ने महत्व बोकेको स्थल हो ।
महाशिलालाई चारै दिशाबाट हेर्दा फरक फरक आकृतिमा देख्न सकिन्छ । शिलामा एकटक लगाएर हेर्ने हो भने भगवान शिव, पार्वती देख्न सकिन्छ भने भगवान कृष्ण, सरस्वतीका रुप पनि देखिन्छन् । कतैबाट हेर्दा बाघ माथि देवी बसेको आकृति पनि देख्न सकिन्छ । प्रकृतिले हामीलाई अथाह सम्पत्ती दिएकी छन, तर हामीले हामीसँग भएको सम्पत्तीलाई नचिनी कृत्रिम बस्तुको नक्कल गर्न पुग्छौं । कृत्रिम बस्तु त्यतिबेला बनाउँनु पर्दछ, जतिबेला हामीसँग प्रकृतिले दिएको केहि चिज नै छैन । जहाँ प्रकृतिले नै ठगेको छ, जहाँ भगवान महादेवले दर्शन दिनु भएको छैन, त्यस्ता स्थानमा कृत्रिम अर्धनारेश्वर महादेवको आवश्यक पर्ने हो, तर हाम्रो पुण्य भूमिमा महादेवको साक्षात् रुप हामीले पाएकै छौं भने हामीलाई करोडौं रकम खर्च गरी किन कृत्रिम महादेव चाहियो ?
महाशिला अत्यन्तै महत्व बोकेको सम्पदा स्थल हो । भौतिक सम्पदा र सांकृतिक सम्पदा मध्ये शिला प्राकृतिक प्रदत्त भौतिक सम्पदा हो । यस्ता सम्पदालाई दुरुस्त राख्दै संरक्षण गर्ने जिम्मेवारी हामी सबैको हो । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ८ मा राष्ट्रिय तथा सार्वजनिक सम्पदा सम्बन्धी व्यवस्था गरेको छ । सोहि संहिताको दफा १४८ ले देवस्थल लगायतका बस्तु सार्वजनिक सम्पदा हुन भनि परिभाषा गरिएको छ । यस्ता बस्तुको कुनै किसिमले हानि, नोकसानी वा क्षति पुर्याउनु हुदैन र त्यस्तो क्षति पुर्याउनेलाई ५ वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ । त्यस्तै दफा १४९ मा प्राकृतिक सम्पदा माथि कुनै किसिमले अतिक्रमण वा कब्जा गर्न वा त्यस्तो सम्पदा बिक्री वितरण गर्न वा त्यसको प्राकृतिक बनावट वा सौन्दर्यमा कुनै किसिमले हानि, नोक्सानी वा क्षति पुर्याउन हुँदैन । भन्ने व्यवस्था गरेको छ । त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई १० वर्षसम्म कैद र बिगो नखुलेको भएमा १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्ने व्यवस्था गरेको छ । महाशिला प्राकृतिक सौन्दर्य भएको एक सम्पदा स्थल हो । यस्तो सम्पदा स्थलमा कसैले पनि प्राकृतिक सौन्दर्यलाई बिगार्न हुँदैन । स्थानीय सरकारले त यस्ता सम्पदालाई दुरुस्त राख्दै संरक्षण गर्नु झनै ठूलो कर्तव्य र दायित्व अन्तर्गत पर्दछ । मेरो भनाई महाशिला गा.पा.लाई सजाय गर्नुपर्दछ भन्ने कदापि हैन । तर यस्तो सम्पदालाई संरक्षण गर्नु पर्दछ, यस्तो बस्तु भावि पुस्ताका लागि जस्ताको तस्तै हस्तान्तरण गर्नु पर्दछ । तर शिलाको आसपासमा कृत्रिमजन्य अन्य बस्तुहरु भने बनाउनु पर्दछ भन्ने हो । शिलालाई दुरुस्त राखि शिलाको साथमा मुर्ति बनाउने, जडित आकृतिहरु बनाउने आदि जस्ता कार्यहरु स्थानीय सरकारले गर्नुपर्दछ ।
संयुक्त राष्ट्रसंघ, युनेस्कोले बहुमूल्य सम्पदाका रूपमा सुचिकृत विश्वका स्मारक र स्थानहरू जस्तै पहाड, वन, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन वा शहर जस्ता धरोहरहरुलाई आफ्नो सुचिमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ र यसै समितिले यस सम्पदा क्षेत्रलाई रेखदेख युनेस्कोको तत्वाधानमा गर्दछ । सोहि सम्पदा सूचीमा सूचीकृत हुनेसम्मको क्षमता र मूल्य महाशिलाले बोक्दछ । यस्ता सम्पदा स्थलहरुलाई सूचीबद्ध गर्र्न सकिने प्रवल सम्भावना थियो । महाशिला विश्व संस्कृतिको दृष्टिले समेत महत्वपूर्ण छ । युनोस्कोले यस्ता सम्पदाहरुलाई आर्थिक सहयोग पनि प्रदान गरेको पाइन्छ । सन् २०१३ सम्ममा १६० राष्ट्रका ९८१ क्षेत्रलाई विश्व सम्पदाका रूपमा सूचीकृत गरिएको पाइन्छ । जसमा ७५९ सांस्कृतिक, १९३ प्राकृतिक र २९ मिश्रीत बस्तु रहेका छन् । यस तथ्यले पनि के प्रष्ट पार्छ भने सांस्कृतिक र प्राकृतिक क्षेत्र नै महत्वपूर्ण हुन्छन् । जसले बिश्व सम्पदा सूचीमा आबद्ध हुने पहिलो हक राख्दछ ।
प्राचिन स्मारक संरक्षण ऐन, २०१३ को दफा ६ मा प्रमुख जिल्ला अधिकारीले प्राचिन पूरातात्विक बस्तुको संरक्षणको लागि पूरातत्व अधिकृतलाई बिवरण खोलि लेखि पठाउनु पर्ने व्यवस्था गरेको छ । ऐ को दफा ८ मा यस्ता पुरातत्व महत्व राख्ने वस्तुको संरक्षणको लागि जमिन पनि खन्न नपाइने व्यवस्था गरेको छ । यस्ता पुरातात्विक वस्तुको नोक्सानी गरेमा रु १ लाखसम्म जरिवाना र ५ वर्षसम्म कैद वा दुवै सजाय हुने समेत उल्लेख गरेको पाइन्छ । प्राकृतिक वस्तुहरुको संरक्षण सम्बन्धी कानूनमा पनि यस्ता महत्वपूर्ण स्थलहरुलाई यथास्थितिमा राख्नु पर्ने व्यवस्था गरिएको छ ।
भगवान शिवका विभिन्नका रुप मध्ये बिशाल शिलाको रुपमा हामीले महाशिलालाई पाएकै छौं भने अनि किन उनै शिव भगवानलाई करोडौं रकम खर्च गरी थिलो थिलो पार्दै छौं, यि भगवानलाई थिलो थिलो पारी क्षतविक्षत गरी कृत्रिम १०८ फिटको अर्धनारेश्वर महादेवको मुर्ति बनाउने कार्य कुनैपनि दृष्टिकोणले उपयुक्त हुन सक्दैन । महाशिला गा.पा.ले १०८ फिटको अर्धनारेश्वर मुर्ति शिलामा कुँध्न लागेको कार्य कर्णप्रिय लाग्न सक्छ, गा.पा.ले यो राम्रो कार्य गरेको देख्न सकिएला तर दिगोरुपमा कुनै अर्थमा पनि किमार्थ राम्रो हुन सक्दैन । मुर्ति बनाउँदा महाशिला वरिपरीका स्थानीय शिवभक्तहरु पनि खुशि नै हुनु भएको होला, तर अव ति शिव महादेवको रुप धारण गरी बसेका, हामी सबैको आस्थाको केन्द्र महाशिलालाई छिनो, घनले टुक्रा टुक्रा झिकी थिलो थिलो पारी क्षत बिक्षत बनाई भएको प्राकृतिक वास्तविक रुपलाई नष्ट गरी नयाँरुप दिंदा कसैको त मन पक्कै पनि रुन्छ भन्ने लाग्छ । मलाई पनि शुरु शुरुमा मुर्ति कुँध्न उपयुक्त नै हुन्छ होला भन्ने लाग्दथ्यो । तर यसका अधिकांश बिशेषज्ञहरुले प्राकृतिक बस्तुलाई यथास्थितिमा नै राख्नु पर्दछ भन्दछन् । प्राकृतिक रुपलाई बिगार्ने अधिकार कुनैपनि सरकारलाई छैन । कसैले निर्णय गर्दैमा यस्ता बस्तुलाई खोपि कुरुप बनाउन मिल्दैन । यति ठूलो धनराशि करौडौं रकम लगानी गरी यस क्षेत्रलाई कलात्मकरुपले सजावट गरी आकर्षक बनाउँन सकिन्थ्यो । अरुको देखासिकी गर्दा हामीसँग जे छ, त्यो हामीले नदेख्ने, चाल नपाउँने, जे छैन, त्यो खोज्ने, त्यता तिर जाने प्रबृत्तिले हामीलाई के बनाउँछ, कहाँ पुर्याउँछ ⁄ सोच बिचार गरौं । शिलालाई खोप्न भन्दा शिला माथि जडित मुर्ति बनाउँने, मन्दिर बनाउँने, कलात्मकरुले सजावट गर्ने, ठूलो महायज्ञ लगाउँने, व्यापक प्रचार प्रसार गरी महाशिलाको महिमा बढाउँने कार्य गर्नु उचित हुन्छ । महाशिला गा.पा. आँफै महाशिलालाई कुरुप बनाई यसको वास्तविक अस्तित्व मेट्ने कार्यमा उद्धत नहोस् । महाशिला गा.पा. सरकारले जनभावनाको पनि राय बुझोस, अधिकार प्रयोग निर्मम तवरले नगरोस । निर्मम निर्णयले सहि दिशामा पुर्याउँदैन । महाशिला गाउँपालिकाले महाशिलामा नै गै शिलाको असली रुप हेरोस, यसलाई थिलो थिलो पार्दा के प्रभाव पर्छ, पुनः बुझोस, आफ्नो निर्णय मौकैमा बदल्दैमा केहि नोक्सान हुदैन । यस्ता निर्णय बदल्नु पर्दछ । लक्ष्मि प्रसाद देवकोटाले पनि त्यसै भनेका हैनन होला –“फुल्दो गुलावबीच ज्ञान अनेक फुल्छन । उद्यानमा बस गई सब तत्व खुल्छन् ।।“ चेतना भया ।









