बार्सिलोना, स्पेन ।
नेपाली जनप्रगतिशील मञ्च स्पेनको आयोजना तथा बार्सिलोना नगरपालिका र सांस्कृतिक विभाग (प्ला कमुनीतारीया) को समन्वयमा ‘नमस्ते बार्सिलोना २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। नेपाली नयाँ वर्ष २०८३ को पावन अवसरमा आयोजित उक्त कार्यक्रममा नेपालको पर्यटन प्रवर्द्धनका साथै विविध सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिएको थियो।
स्पेनको बार्सिलोनामा आयोजित उक्त विशेष समारोहमा नेपाली कला, संस्कृति, भेषभूषा र मौलिक पहिचानको प्रदर्शन गर्दै नेपाल भ्रमणको निम्तो दिइएको थियो। कार्यक्रममा बार्सिलोना नगरपालिकाका प्रतिनिधि, स्थानीय संघसंस्थाका व्यक्तित्वहरू र स्पेनमा रहेका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो।
नेपालको पर्यटन र पर्यावरणको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल सम्बन्धी जानकारीमूलक सामग्रीहरू वितरण गरिएको थियो। मञ्चका अध्यक्ष विशाल ढुंगानाले कार्यक्रम सोचेभन्दा पनि भव्य भएको र यसले स्पेनिस नागरिकहरूमाझ नेपालको सकारात्मक छवि पुर्याउन मद्दत पुगेको बताउनुभयो।
अध्यक्ष ढुंगानाका अनुसार, कार्यक्रममा नेपाली मौलिक नाचहरू, सांगीतिक प्रस्तुति र नेपाली भेषभूषाको प्रदर्शनीले विदेशी पाहुनाहरूलाई समेत मन्त्रमुग्ध पारेको थियो। “हामीले हाम्रो कला र संस्कृतिलाई प्रवासमा पनि जगेर्ना गर्ने र नेपालको पर्यटनमा टेवा पुर्याउने लक्ष्य राखेका थियौँ, जसमा हामी सफल भएका छौँ,” ढुंगानाले भन्नुभयो।
अध्ययन तथा रोजगारीको सिलसिलामा स्पेनमा रहेका नेपालीहरूले आफ्नै मौलिक पोशाकमा सजिएर कार्यक्रममा सहभागिता जनाएका थिए। कार्यक्रमले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन र नेपाली नयाँ वर्षको उमङ्ग साटासाट गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन्।
जनप्रगतिशील मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको यो कार्यक्रम यसपटक थप व्यवस्थित र प्रभावकारी देखिएको थियो। कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै नेपाल भ्रमणका लागि अपिल समेत गरिएको थियो।









