पर्वत , ८ बैशाख
बिहादी गाउँपालिका ले आफ्नै पहिचान झल्किने गरी आधिकारिक लोगो तयार गरी सार्वजनिक गरेको छ ।
गाउँपालिकाले आफ्नो नयाँ लोगोमा स्थानीय मौलिकता र सांस्कृतिक विशेषतालाई प्राथमिकता दिँदै विभिन्न पहिचानहरू समेटेको छ । लोगोमा कालीगण्डकी नदी क्षेत्रमा पाइने शालिग्राम शिला, कालीगण्डकी लोकमार्ग, स्थानीय कृषिजन्य उत्पादन, जलविद्युत आयोजना, स्थानीय भेषभूषा तथा मठ–मन्दिरजस्ता धार्मिक स्थलहरू समावेश गरिएको छ ।
वि.सं. २०७३ सालमा स्थापना भएको गाउँपालिकाले झण्डै एक दशकपछि आफ्नो छुट्टै पहिचान झल्किने लोगो तयार गरेको हो । उक्त लोगो एक भव्य समारोहबीच सोमबार गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले सार्वजनिक गर्नुभएको गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङले जानकारी दिनुभयो । यस लोगोले स्थानीय कला, संस्कृति र स्रोत–साधनलाई उजागर गर्दै गाउँपालिकाको समग्र पहिचान प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।








