पर्वत, १५ साउन
आज साउन १५ अर्थात् खिर खाने दिनको अवसरमा पर्वतको कुश्मा बजारमा सञ्चालित आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले विशेष कार्यक्रम आयोजना गरी आफ्ना विद्यार्थीलाई खिर खुवाएको छ।
विद्यालयले मात्र साउन १५ नभई वर्षभरि विभिन्न धर्म र संस्कृतिसँग सम्बन्धित पर्वहरूलाई समेत विद्यालयमै मनाउँदै आएको छ। यसले बालबालिकालाई आफ्नै संस्कृति, परम्परा र विविध धर्मको पहिचान दिलाउँदै आपसी सद्भाव र सम्मानको भावना जगाउने उद्देश्य राखेको विद्यालयले जनाएको छ।
कार्यक्रमका क्रममा विद्यालयका प्राइमरी इञ्चार्ज अर्जुन सापकोटाले भने “हाम्रो विद्यालयले केवल शैक्षिक ज्ञान मात्र नभई संस्कार र परम्परालाई पनि समान रूपमा महत्व दिन्छ। जुनसुकै धर्मसँग सम्बन्धित पर्वमा पनि बालबालिकालाई त्यसको महत्व र पहिचान दिलाउने गरी कार्यक्रम गर्दै आएका छौं।”
शिक्षक–शिक्षिकाहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले रमाइलो माहोलमा खिर ग्रहण गर्दै पर्वको महत्वबारे पनि सिकेका थिए।









