पर्वत, २४ असार
असार महिनाको तेस्रो सातासम्म पर्वतमा ३५ प्रतिशत धान रोपाई भएको छ । यो बर्ष छिट्टै मनसुन शुरु भएपछि पर्वतमा ३५ प्रतिशत खेतमा धान रोपाई भएको कृषि ज्ञान केन्द्र पर्वतका कृषि विज्ञ प्रकाश चौधरीले बताउनुभयाे । यो बर्ष जेठको तेश्रो साता देखि नै मनसुन सक्रिय भएका कारण खेत रोपाईमा सहज भएको हो ।
गत बर्ष यति नै बेला पर्वतमा १५ प्रतिशत मात्रै धान रोपाई भएको थियो । अघिल्ला बर्षहरुमा भन्दा यस बर्ष बाँझो जग्गामा समेत खेती गर्ने दर समेत बढेको छ । स्थानीय तहहरुले बाझो जग्गामा खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न थालेपछि कतिपय बाँझो छाडिएका खेत र बारीहरुमा अहिले खेती गरिएको छ । सो सँगै पर्वतका कतिपय स्थानीय तहहरुले विदेशबाट फर्केका युवालाई कृषि पेशामा तल्लिन गराउनका लागि अनुदानको समेत व्यवस्था गरेकाले खेती बढेको हो । असारको तेश्रो साता चलिरहँदा पर्वतमा धान रोपाई पनि तिव्र गतिमा भइरहेको छ ।
पर्वत जिल्लामा धान फल्ने ७ हजार ६ सय हेक्टर जमिन रहेको छ । त्यस मध्ये झण्डै २ हजार ५ सय हेक्टर भन्दा बढिमा रोपाई भैसकेको छ । बाहैमास सिंचाई हुने खेतमा रोपाईका लागि समस्या नभएपनि अन्य ठाउँका कृषकका लागि पनि यस वर्ष समयमै प्रभावकारी वर्षा भएकाले कुनै समस्या भएको छैन ।
अहिले पर्वतमा छेमरोङ, खुमलटार, गौरीया, गुडुरा, मार्सी, पहेले, जर्नेली लगायत जातका धान रोपिएको जिल्ला कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी सोविता सुवेदीले बताउनुभयो ।









