पर्वत, १६ असार
जिल्ला प्रहरी कार्यालय पर्वतमा सहायक प्रहरी हवल्दारका रुपमा कार्यरत टेकबहादुर केसीलाई कार्यालयले जेठ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको छ । घोषित सँगै केसीलाई कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टले प्रमाण पत्र र नगद पुरस्कार सहित सम्मान गरेका छन् ।
कार्यालयको फिल्ड तर्फ कार्यरत के.सीलाई सांगठनिक नीति निर्देशन बमोजिम आफुलाई दिईएको जिम्मेवारी तथा पदीय दायित्वलाई ईमान्दारी, वफादारी तथा व्यवसायिक सुझबुझका साथ कर्तव्य निर्वाह गरेको भन्दै सम्मानित गरिएको सुचना अधिकारी प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बताउनुभयो ।
साथै केसीलाई २०८२ जेठ महिनामा सञ्चालन भएको “प्रथम प्रहरी नायव उपरीक्षक कप रनिङ शिल्ड–२०८२” को लागि विभिन्न निकायहरुसँग समन्वयकारी भुमिका निर्वाह गरेको र यस कार्यालय हाता भित्र निर्माण भएको सि.सि. टिभी कन्ट्रोल रुम निर्माण कार्य, कार्यालय सौन्दर्यीकरण कार्य, विभिन्न व्यक्ति, संस्था तथा निकायसँग प्रभावकारी समन्वय गरी जवान मेस मर्मत, सुधार तथा स्तरोन्नति लगायत कार्यालयको भौतिक पूर्वाधार विकासमा पुर्याएको योगदान सहित उल्लेखनीय रुपमा समवन्यकारी भूमिका निर्वाह गरेको भन्दै प्रहरीले उनको कार्यको प्रशंसा समेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतले गत बर्ष देखि कार्य सम्पादन र मुल्याङकनका आधारमा हरेक महिना प्रहरी सम्मान कार्य गर्दै आएको छ ।









