पर्वत, १५ असार
एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नवचेतना सामुदायिक विकास केन्द्रको आयोजनामा पर्वतको फलेवास नगरपालिका भित्र सञ्चालित स्वास्थ्य संस्थाहरुलाई उपयोगी सामग्री हस्तान्तरण गरिएको छ ।
संस्थाले हालै एक कार्यक्रमको आयोजना गरी फलेवास नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई सरसफाइ सामग्री, स्वास्थ्य उपकरण तथा फर्निचर प्रदान गरेको हो । संस्थाका लेखा प्रमुख सतिश शर्माका अनुसार ६ लाख २३ हजार ३ सय २५ रुपैँया बराबरको सामग्री प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा फलेवास नगरपालिकाका नगरप्रमुख गङ्गाधर तिवारीले उक्त कार्यको प्रशंसा गर्दै स्वास्थ्य क्षेत्रको सेवालाई थप प्रभावकारी बनाउनका निम्ति संस्थाको सहयोग अतुलनीय रहेको बताउनुभयो । उहाँले आगमी दिनमा समेत संस्थाको सहयोग र सहकार्य अपरिहार्य रहेको बताउँदै नगरपालिकाले समेत संस्थासँग हातेमालो गरेर अघि बढ्ने दृढता व्यक्त गर्नुभयो । कार्यक्रममा नगरपालिका उप–प्रमुख शोभा कुमारी क्षेत्री, कुश्मा नगरपालिकाका संस्थापक उप–प्रमुख तथा नवचेतना सामुदायिक विकास केन्द्रका संरक्षक सिता काफ्ले लामिछाने, वडा अध्यक्षहरू, स्वास्थ्य शाखाका प्रतिनिधिहरू राजनीतिक दलका प्रतिनिधिहरु , समाज सेवीहरु , गुड नेबर्स इन्टरनेशनल नेपाल र नवचेतना सामुदायिक विकास केन्द्रका पदाधिकारीहरू उपस्थित रहेको थियो ।
कार्यक्रममा संरक्षक सिता काफ्ले लामिछानेले नवचेतना सामुदायिक विकास केन्द्रले स्थापना कालदेखि सामाजिक विकासका विभिन्न क्षेत्रमा निरन्तर योगदान गर्दै आएको जानकारी गराउँदै आगामी दिनहरूमा अझ प्रभावकारी साझेदारीको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्ुश्मा नगरपालिका ९ कटुवाचौपारीमा स्थापना भई हाल पर्वत जिल्लालाई बिशेष कार्य क्षेत्र बनाएको संस्थाले शिक्षा, स्वास्थ्य, बालअधिकार, महिला सशक्तिकरण, वातावरण संरक्षण, दीगो विकास र जीवनोपार्जनका क्षेत्रमा काम गर्दै आइरहेको छ ।









