पर्वत ११ फागुन ।कुश्मा नगरपालिकाले अनुगमन गर्न थालेपछि पर्वतको कुश्माबजारमा सञ्चालित मासु पसल सुधारोन्मुख देखिएका छन् । नगर स्तरीय अनुगमन समितिले अनुगमन गरि केहि पसल सिलबन्दी गरेपछि अन्य पसलहरुले मापदण्ड अनुसारको संरचना बनाउन थालेका हुन् । शुक्रवार भएको अनुगमनमा अधिकाँश पसलहरुले मापदण्ड अनुसारको संरचना बनाएको पाईएको छ भने विगतमा कैफियत देखिएका पसलले सुधार गरेको भेटिएको हो । अनुगमनका क्रममा १९ वटा पसलमा पुग्दा अधिकाँशमा मापदण्ड सन्तोषजनक देखिएको र मापदण्ड नपुगेका दुई वटा पसलमा सिलबन्दी गरिएको कुश्मा नगरपालिकाको पशु सेवा शाखाका प्रमुख डा. रुपक कँडेलले जानकारी दिए ।
उनका अनुसार कुश्मा नगरपालिका ५ शिवालयचोकमा दर्ता नै नभएको एक पसल र कुश्मा नगरपालिका ५ मा सञ्चालित जि.वी मासु पसल सिलबन्दी गरिएको छ । मिन फ्रेस हाउस, गिरी मासु पसल, पारस फिस हाउस, राजकुमार माछा पसल, हिमाल फ्रेस हाउस, सम्राट मासु पसल, गगन फ्रेस हाउस, निरहु मासु पसल, केसी फ्रेस हाउस, फेवा फ्रेस हाउस, स्टार फ्रेस हाउस लगायतका मासु पसलमा अनुगमन गरिएको कँडेलले बताए । उनका अनुसार ती मासु पसल लाई मापदण्ड अनुसारको बनाउन ताकेता गरिएको थियो ।
अनुगमन समितिले मासु पसलको दर्ता, नवीकरण, मासु काट्ने र विक्री गर्ने स्थल, सरसफाई, काट्ने, भण्डारण गर्ने स्थान आदीको बारेमा अनुगमन गर्दै आएको छ । एक हप्ता अगाडी १९ वटा पसलमा सिलबन्दी गरिएको थियो । नगरपालिका कडाईका साथ प्रस्तुत भएपछि व्यवसायीले धमाधम मापदण्ड अनुसारको पूर्वाधार बनाउन थालेको पशु सेवा शाखा प्रमुख कँडेलले बताए । ‘ अघिल्लो पटक भन्दा अहिले हेर्दा धेरै सुधार भएको पाईयो,’ उनले भने,‘ हामीले अरु पसलमा पनि अनुगमन गर्दै छौँ ।’ मापदण्ड नपुगेका पसल लाई एक हप्ता भित्र सुधार गर्न समय दिईएको उनले बताए ।
कुश्मा नगरपालिका, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ लगायतको सहभागितामा अनुगमन गरिँदै आएको छ ।







