फागुन १४ पर्वत । पर्वतको कुश्मा नगरपालिकामा पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजना आयोजना शुरु भएको छ । । गण्डकी प्रदेशका १० जिल्लाका ३४ स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गर्न लागिएको छ । ति मध्ये कुश्मा नगरपालिका पनि रहेको छ । कृषि ज्ञान केन्द्रको सभाहलमा आज सरोकारवाला संग यो कार्यक्रमको बारेमा अन्तरक्रिया गरिएको छ ।
जनप्रतिनिधी, कर्मचारी, कृषक तथा आयोजना पक्षका बिचमा उक्त छलफल भएको हो । पहाडी क्षेत्र काष्ठफल तथा फलफुल विकास आयोजनाका प्रमुख बरिष्ठ बागवानी विकास अधिकृत बालकृष्ण अधिकारीले कार्यक्रमको बारेमा स्पष्ट पार्नुभयो भने प्राप्त सुझाव र प्रश्नको जवाफ दिनुभयो ।
कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले यो आयोजनाले कुश्मा नगरपालिकामा बाँझिएको जमिनको सदुपयोग हुने र कृषकले नयाँ प्रविधिको खेतीको बारेमा अनुभव लिएर फाईदा लिन सक्ने बताउनुभयो । जोशीले किसानहरु अहिले पनि परम्परागत शैलीको खेती प्रणालीमा अल्झिरहेको भन्दै यो कार्यक्रमले किसानलाई प्राविधिक ज्ञान संगै नगदेवालीमा प्रेरित गर्ने आँफूले विश्वास गरेको धारणा राख्नुभयो । कृषकलाई व्यावसायिक बन्न अनुरोध गर्दै उहाँले संभावना नदेखेर विदेश पलायन भएका यूवालाई स्वदेशमा फर्काएर कृषि पेशामा लगाउन पनि सहयोग हुने बताउनुभयो ।
कार्यक्रममा आयोजनाका प्रमुख बालकृष्ण अधिकारीले प्रदेश सरकारले यो आयोजनामा १० वटा वालीको सिफारिस गरेको र स्थान हेरेर ति खेती गरिने बताउनुभयो । पर्वत जिल्लनमा सुन्तला, एभोकाडो,ओखर र कागती खेती गर्न सकिने आफूहरुको प्रारम्भिक अनुमान रहेको हुनाले यसमा अन्य खेती पनि समाबेश गर्न सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालले किसानलाई आफ्नो ठाउँमा कुन खेती गर्दा बढि फाईदा हुन्छ भनेर तालिम दिनुपर्ने बताउनुभयो । उहाँले भौगोलिक विविधता रहेको कुश्मामा विविधता पूर्ण खेती गर्नुपर्ने सुझाव दिनुभयो ।
उक्त कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत विष्णुप्रसाद तिवारी, कुश्मा नगरपालिका ३ का वडाध्यक्ष तेजप्रसाद पाध्या, वडा नम्बर ९ का अध्यक्ष रामशर्मा लामिछाने, वडा नम्बर १२ का अध्यक्ष झलकप्रसाद रिमाल लगायत विभिन्न वडाबाट सहभागी कृषकहरुले आफ्नो अनुभव र धारणा राख्नुभएको थियो । कार्यक्रमको स्वागत तथा सञ्चालन कृषि विकास निर्देशनालय पोखराका विनोद शर्माले गर्नुभएको थियो ।









