पर्वत, १४ माघ
गाउँ र शहरबीचको सम्बन्ध प्रगाढ बनाउने गरी पर्वतको नाग्लिवाङबाट विभिन्न शिलशिलामा काठमाण्डौ बसोबास गर्ने नाग्लिवाङबासीहरुको संस्था नाग्लिवाङ सेवा समाज काठमाण्डौको अध्यक्षमा भोजबहादुर केसी चयन हुनुभएको छ । समाजको हालै सम्पन्न अधिवेशनले केसीको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति विस्तार गरेको हो ।
समितिको उपाध्यक्षद्वयमा नरेन्द्रबहादुर रेग्मी र रेनु केसी रहनुभएको छ भने सचिवमा कृष्णबहादुर केसी, सहसचिवमा सुमित्रा जिसी, कोषाध्यक्षमा भरत केसी र सदस्यहरुमा तेजबहादुर जिसी, दिपक रेग्मी, विष्णु रेग्मी, नारान केसी, कल्पना अर्याल, लक्ष्मी खड्का र जीवन खड्का रहनुभएको छ । त्यस्तै सल्लाहकारमा संस्थापक अध्यक्ष गजेन्द्र केसी र निवर्तमान अध्यक्ष धनबहादुर केसी रहनुभएको छ ।
शनिबार सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति पर्वतका उपप्रमुख सोमबहादुर जिसीले गाउँबाट विभिन्न कारणबस बाहिरिएपनि नाग्लिवाङबासीहरुले गाउँ प्रति दर्शाएको माया सदैव प्रशंसनीय भएको बताउनुभयो । साथै आगमी दिनमा गाउँको विकासका खातिर सवै नाग्लिवाङबासीहरु एकजुट भएर लाग्नुपर्ने सुझाव समेत दिनुभएको थियो ।
२०७३ सालमा विभिन्न उद्देश्य राखेर गठन भएको यो समाजले भोलिका दिनमा कृषि, स्वास्थ्य र खानेपानीका क्षेत्रमा विभिन्न क्रियाकलापहरु गाउँमा सञ्चालन गर्ने लक्ष्य लिएको नव निर्वाचित अध्यक्ष केसीले जानकारी दिनुभयो । समाजमा अहिले ५२ जना भन्दा बढी आजिवन सदस्य रहेका छन् ।








