पर्वत, १४ माघ
पर्वतको कुश्मा बजारमा सञ्चालित नमुना आवासीय माध्यमिक विद्यालयले कक्षा ५ देखि १२ कक्षा सम्मका विद्यार्थीलाई प्रयोगात्मक शिक्षा अन्तर्गत पकाउँदै सिक्दै परीक्षात्मक क्रियाकलाप सम्पन्न गरेको छ । हालै सञ्चालन भई सम्पन्न भएको तेश्रो त्रैमासिक परीक्षाको प्रयोगात्मक परीक्षा अन्तर्गत पाक शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।
विद्यालयका अध्यक्ष यमप्रसाद शर्माले कक्षा ५ देखि ८ सम्म ५० अंक र कक्षा ९ र १० को २५ अंकको परीक्षामा पाक शिक्षा सञ्चालन गरेको र सोही अन्तर्गत प्रयोगात्मक शिक्षणका रुपमा सिकाइ क्रियाकलाप सञ्चालन गरेको बताउनुभयो । कतिपय विद्यालयहरुले प्रयोगात्मक परीक्षाको अंक प्रयोगात्मक शिक्षण विना नै दिने गरेको पाइएपनि नमुना आवासीय माविले भने विद्यार्थीहरुलाई पाक शिक्षा अन्तर्गत विभिन्न स्थानीय रैथाने बालीका परिकारहरु पकाउन लगाएरै अंक दिएको थियो । दुई दिन सम्म सञ्चालन गरी सम्पन्न भएको पाक शिक्षा प्रयोगात्मक परीक्षामा समुह विभाजन गरी प्रत्येक समुहमा ६ देखि ८ जना सम्मको टोली बनाएर आफै पकाउँदै, सिक्दै गर्न लगाइएको विद्यालयका प्रधानध्यापक इन्द्रमान खत्रीले बताउनुभयो ।
सोही परीक्षाका क्रममा कोदोको परिकार अन्तर्गत ढिँडो पकाउँदै गरेकी कक्षा ७ मा अध्ययनरत कामना क्षेत्रीले मनोरञ्जन सँगै पकाउन सिक्न पाएकोमा खुशी व्यक्त गरिन् । यस अघि पनि विद्यालयले प्रयोगात्मक शिक्षा अन्तर्गत कृषिका उपज उत्पादन लगायतका कार्यक्रमहरु सञ्चालन गर्दै आएको थियो ।
पाक शिक्षा कार्यक्रमले बालबालिकाहरुलाई घरमा समेत खाली समयमा भान्छामा काम गर्ने बानीको विकास होस् र मोबाइल, टिभी लगायतका प्रविधिबाट टाढै रहुन् भन्ने उद्देश्यले उक्त शिक्षा सञ्चालन गरेको र पाक शिक्षा प्रभावकारी बनेको विद्यालयका प्रधानध्यापक इन्द्रमान खत्रीले बताउनुभयो । विद्यार्थीहरुले जीवनोपयोगी सिपका रुपमा पाक शिक्षालाई लिएको शिक्षक इञ्चार्ज जलन केसीले बताउनुभयो ।








