पर्वत, १४ असार
जलजला गाउँपालिकाको गाउँसभा स्थल तनावग्रस्त बनेको छ । अध्यक्ष राजुप्रसाद आचार्यले हमति विना नै नीति तथा कार्यक्रम प्रस्तुत गर्न खोजेको भन्दै एमाले सम्बद्ध कार्यपालिका सदस्यहरुले विरोध जनाएपछि केही समय तनाबग्रस्त बनेको हो । नेपाल प्रहरीका सुरक्षाकर्मीहरु सभा स्थलमा प्रबेश गरेपछि प्रहरीले धरपकड गर्न खोजेको भन्दै एमाले सम्बद्ध सदस्यहरुले विरोध जनाएका थिए ।
सो सँगै उनीहरुले आर्थिक बर्ष ०७९।८० को यथार्थ आय व्यय सार्वजनिक नगरेको र प्रक्रिया नै पुरा नगरी सभा सञ्चालन गर्न खोजेको भन्दै विरोध जनाएका थिए । कार्यपालिका सदस्यहरुको विरोधका बाबजुद सभा सञ्चालन गरेर नीति तथा कार्यक्रम प्रस्तुत गर्न खोजेपछि एमालेसम्बद्ध सदस्यहरुले माइक खोसेर सभा रोक्न आग्रह गरेका थिए ।
गाउँपालिकाले यही असार १० गते नीति, तथा कार्यक्रम र बजेट ल्याउनेगरी गाउँसभाको बैठक आब्हान भएको थियो तर बहुमत गाउँसभाका सदस्य उपस्थित नभएपछि जलजला गाउँपालिकाले असार १२ गते बैठक आब्हान गरेको थियो । उक्त बैठकमा पनि कोरम नपुगेपछि गण्डकी प्रदेश सरकारले स्थानीय सरकार सञ्चालन ऐन अन्र्तगत २५ प्रतिशतले पनि नीति तथा कार्यक्रम र बजेट ल्याउनसक्ने प्रावधानलाई टेकेर बिहिबार गाउँसभाको बैठक आब्हान गरेको थियो । आजको बैठकमा अध्यक्षले सुरुमा बैठक सुरु गर्नेबित्तिकै एमालेबाट निर्वाचित गाउँसभाका सदस्यले उठेर असहमति जनाएपछि विवाद उत्पन्न भएको हो ।
प्रहरी सभा स्थलमा प्रबेश गरेको सन्दर्भमा पर्वत जिल्लाका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बढी नै तनाबग्रस्त भएपछि सामन्य पार्नका लागि प्रहरीले सहजिकरण गरेको बताए । उनले भौतिक क्षति मात्रै नभई मानवीय क्षति समेत हुने अवस्था सिर्जना भएपछि प्रहरीले समन्वय गरेको जानकारी दिए ।
प्राप्त पछिल्लो जानकारी अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६ को उपदफा ४ को ३ बमोजिम २५ प्रतिशत संख्या पुर्याएर सभा सञ्चालन गर्ने र बजेट सार्वजनिक गर्ने गरी तयारी भइरहेको स्रोतले जनाएको छ ।









