पर्वत, १६ असार
पर्यटन तथा उद्योग कार्यालय पर्वतको संयोजन तथा जिल्ला प्रशासन कार्यालय पर्वतको संयुक्त आयोजनामा कुश्मा बजारका विभिन्न पसलहरुमा आकस्मिक अनुगमन गरिएको छ । बजार अनुगमनका क्रममा गुनासो र उजुरीका आधारमा बजार भित्र विभिन्न दैनिक उपभोग्य सामग्रीहरु सप्लाई गर्ने सप्लायर्सहरुलाई विशेष निगरानी गरिएको थियो ।
यसरी अनुगमन गर्दा केही सप्लायर्स व्यवसायीहरुले इजाजत विना नै सामग्रीहरु बजारमा पठाउने गरेको पाइएको थियो । आलु प्याज देखि विभिन्न मसला जन्य पदार्थहरु अनाधिकृत रुपमा विक्रि वितरण गरेको पाइएकोले सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल सहितको अनुमगन टोलीले व्यवसाय सञ्चालनमा रोक लगाएको थियो भने आवश्यक कार्बाही तथा कागजात पुणर्ताका लागि २ देखि ७ दिनको अल्टिमेटम दिइएको पर्यटन तथा उद्योग कार्यालयका पर्वतका प्रमुख मुना अधिकारीले जानकारी दिनुभयो ।
शुक्रबार भएको अनुमगनका विभिन्न ७ वटा भन्दा बढी व्यवसायहरु अनुगमन गरिएको थियो । जस अन्तर्गत माछा तथा मासु जन्य पदार्थ विक्रि वितरण गर्ने फ्रेस हाउस, किराना पसल र सप्लायर्सहरुको समेत अनुमगन भएको थियो ।






