पर्वत, ७ असार
सरकारले न्यायपूणर् व्यवहार नगरेको भन्दै अतिरिक्त हुलाक कार्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सरकारले अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेपछि उनीहरु असार ४ गतेदेखि आन्दोलित भएका हुन् ।
नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनको अगुवाइमा उनीहरुले जिल्ला हुलाक कार्यालय अगाडि आन्दोलन गरिरहेका छन् । उनीहरुले चारवटा माग राखेका छन् । अतिरिक्त हुलाक खारेजको निणर्य तत्काल फिर्ता गर्ने, अतिरिक्त हुलाकमा लामो समयदेखि कार्यरत कर्मचारीहरुको रोजगारी नखोस्ने, हुलाकको संरचना खारेज होइन यसको सेवाको पुनःसंरचना गर्ने र राजीनामा दिइ सेवाबाट नियमित रुपमा अवकाश भएका वा हुने कर्मचारीहरुको सेवा अवधि तथा सेवा सुविधा सुनिश्चित गर्न उनीहरुले माग गरेका छन् ।
उनीहरुले अतिरिक्त हुलाक कार्यालयले प्रदान गर्ने सबै सेवा बन्द गरेर विरोध गर्दै शान्तिपूणर्रुपले विरोध प्रदर्शन गरेका थिए । यो कार्य असार ९ गतेसम्म चल्ने नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन जिल्ला समिति पर्वतका अध्यक्ष मोहन गिरीले जनाए । उनका अनुसार असार १० गतेदेखि थप आन्दोलन हुनेछ ।
अतिरिक्त हुलाक, इलाका हुलाक तथा जिल्ला हुलाक कार्यालयहरुमा माग पूरा नभएसम्म प्रदर्शनका साथै कामकाज ठप्प पारी तालाबन्दी गर्ने र यो चरणको आन्दोलन सकिादासम्म पनि सरकारले माग पूरा नगरेमा थप आन्दोलनका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष गिरीले जनाए ।
पर्वतमा ४३ वटा अतिरिक्त हुलाक कार्यालय छन् भने जसमा प्रतिनिधि, डाँक, बहाक र वितरक गरी १ सय ५२ जना कर्मचारीको दरबन्दी रहेको छ भने १ सय ३६ जना कर्मचारी कार्यरत रहेका छन् ।









