पर्वत, २८ माघ
पर्वतमा यस वर्ष चौधौँ चरणमा हात्तिपाइले रोग बिरुद्धको आम औसधि खुवाइने भएको छ । गतवर्ष १३ औं चरणमा खुवाइएको र यो वर्ष १४ औं चरणमा खुवाएर औसधि खुवाउने अभियान पूरा गर्न थालिएको हो । हात्तिपाइले रोग निवारणको सन्दर्भमा शुक्रबार कुश्मामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसबारेमा जानकारी गराइएको हो । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सन्तोष पौडेलले यसवर्ष अन्तिम चरणमा औषधि खुवाउन थालिएको जानकारी दिनुभयो । फागुन ११ गतेदेखि औषधि खुवाउने अभियान सञ्चालन गरिने पौडेलले बताउनुभयो । हात्तिपाइले अभियानका फोकल पर्सन तेजप्रसाद सुबेदीका अनुसार पर्वतमा हात्तिपाइले रोगको पुर्व परीक्षणमा ० दशमलव ४ प्रतिशत जनसंख्यामा हात्तिपाइलेको जीवाणु देखिएको हुनाले यसवर्ष अन्तिम चरणमा आम औषधि खुवाउन लागिएको हो । गत मंसिरमा जिल्लाको बढी जोखिम रहेको कुश्मा नगरपालिका १ पाङमा ३२० जनाको परिक्षण गरिएकोमा १ जनामा हात्तिपाइलेको जिवाणु भेटिएको र बिहादी गाउँपालिका २ बर्राचौरमा ३१९ जनाको परीक्षण गरिएकोमा १ जनामा जीवाणु भेटिएको सुबेदीले जानकारी दिनुभयो । गतवर्ष फलेवास नगरपालिका ५ खानीगाउँ पुर्व परिक्षणमा सफल भएको थियो । हात्तिपाइलेको जीवाणु १ प्रतिशत भन्दा कम जनसंख्यामा देखिएमा रोग निवारण भएको मानिन्छ । पर्वतमा ०.४ प्रतिशत संक्रमण भएको हुनाले औषधि खुवाउने अभियान सफल भएको स्वास्थ्य कार्यालयको दाबी छ । हात्तिपाइले रोग बिरुद्धको औषधि कुल जनसंख्या १ लाख ३२ हजार मध्ये गर्भवती, ७ दिनको सुत्केरी, जटिल बिरामी र २ वर्षमुनीका बालबालिका बाहेक सबैलाई खुवाइने भएको छ । पर्वतमा २०६४ सालदेखी हात्तिपाइले रोग विरुद्धको औसधि खुवाउन थालिएको हो । जिल्लामा अहिले सम्म तीन पटक पुर्व परिक्षण भैसकेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार यसपटक चौधौँ चरणको औषधी खुवाइसकेपश्चात् पनि पुन ६ महिना पछि प्रिटास्क गरिन्छ । यसरी गरिएको परीक्षणमा सफल भएमा मात्रै अभियान सम्पन्न हुने कार्यालयले जनाएको छ । यस पटक पनि सफल हुन नसकेमा पन्ध्रौँ चरणमा अहिले खुवाइने औषधीको दोब्बर डोज खुवाउनुपर्ने बाध्यता रहेकाले कार्यालयले स्वतःस्फुर्त औषधी सेवन गर्न सवैलाई आग्रह गरेको छ ।
यस पटक पनि सफल हुन नसकेमा पन्ध्रौँ चरणमा अहिले खुवाइने औषधीको दोब्बर डोज खुवाउनुपर्ने बाध्यता रहेकाले कार्यालयले स्वतःस्फुर्त औषधी सेवन गर्न सवैलाई आग्रह गरेको छ ।
औषधी सेवन गराउने क्रममा विभिन्न जात जाति तथा धर्म विशेष समुदायका व्यक्तिहरुले आनाकानी गर्ने गरेको कार्यालयको गुनासो छ । यस पटक कुनै समुदाय तथा धर्म विशेष क्षेत्रबाट औषधीको उपयोगिताका बारेमा प्रश्न उठाएमा वा खान नमानेमा कानून बमोजिम कार्बाही गर्ने गरी तयारी गरिएको पौडेलले बताउनुभयो । विभिन्न धार्मिक मान्यता र अन्धविस्वासका कारण औसधि खाने दर कम रहेको हुनाले कुनै भ्रममा नपरी औषधि खाने र खुवाउने अभियान चलाउन उहाँ हरुले अनुरोध गर्नुभयो । साथै हात्तिपाइले रोगको नकरात्मक प्रभावको बारेमा पनि प्रकाश पारिएको थियो । सहभागिले अभियानलाई आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
उक्त पत्रकार भेटघाट कार्यक्रममा पर्वत अस्पतालका प्रमुख डा. रुक्मिणा अधिकारीले प्रस्तुतिकरण गर्नुभएको थियो । फोकल पर्सन तेजप्रसाद सुवेदीको सञ्चालनमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरी, नेपाल पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्ष दुर्गाप्रसाद शर्मा, केन्द्रीय सदस्य छविलाल तिवारी लगायतले अभियानको सफलताको कामना व्यक्त गर्नुभएको थियो । स्वास्थ्य कार्यालय पर्वतले यसपटक सञ्चारकर्मीहरुको प्रत्यक्ष अनुगमनमा औषधी खुवाउने गरी कार्यक्रम तय गरेको समेत जानकारी दिएको छ ।









