पर्वत, २४ माघ ।
नेपाल अपाङग उत्थान समाज पर्वतले अपाङगताका क्षेत्रमा कार्यान्वयन गर्ने गरी बनेका कानून र नीति नियम कार्यान्वयनका विषयमा पर्वतमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विभिन्न सरोकारवाला निकायहरुको सहयोगमा समाजले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
अपाङगता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि कानून र नीति लागु गराउनका लागि सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल अपाङग उत्थान समाज पर्वतका संस्थापक अध्यक्ष भोलानाथ शर्माले अपाङगताको अवस्था र वर्तमान कानून कार्यान्वयनको पाटोका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । शर्माले अपाङगता भएका व्यक्तिले नै आफु कुन प्रकृतिको अपाङगता हो भन्ने नबुझेको र राज्यले समेत बुझाउन नसकेको कुरा चासोको रुपमा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा शर्माले राज्यले अपाङगताका क्षेत्रमा लागु गर्ने गरी विभिन्न कानुनहरु निर्माण गरेपनि तल्लो तहबाट त्यो कार्यान्वयन हुन नसकेको र कागजमा नै सिमित भएको कुरा समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले अपाङगता भएका व्यक्तिहरुको कानुन बमोजिम अधिकार प्रत्यायोजनका लागि आफु सकरात्मक रहेको र अन्य मातहतका निकायहरुलाई पनि सो सम्बन्धि सचेत गराउने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समिति प्रमुख विष्णुराम विकले अपाङगता भएका व्यक्तिहरुको जिल्लागत तथ्याङक बनाएर सोही बमोजिम स्थानीय तहहरुसँग समन्वय गरी कानून बमोजिम कार्यान्वयनमा आफुले भूमिका निर्वाह गर्ने बताउनुभयो । कतिपय अवस्थामा अपाङगता भएका व्यक्तिहरुले पहुँचका भरमा अवस्थालाई फरक हिसावले बर्गिकरण भइरहेको प्रसंगमा विकले सो सम्बन्धि सम्बन्धित निकायहरुमा आफुले सचेत गराउने बताउनुभयो ।
नेपाल अपाङग उत्थान समाज पर्वतका अध्यक्ष जगन्नाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष राजेन्द्र पहाडी, पर्वत अस्पतालका प्रमुख रुक्मिणा अधिकारी, शिक्षा समन्वय इकाई प्रमुख उद्धिम राज पौडेल, पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, मानवअधिकार संगठन पर्वतका अध्यक्ष माधव पौडेल लगायतले सुझाव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।







