पर्वत, २९ पुस
पर्वतमा आठौँ राष्ट्रिय योग दिवस भव्य रुपमा मनाउने तयारी भइरहेको छ । विगतका बर्षहरुमा कोठा भित्र मात्रै सिमित रहेर औपचारिकता पुर्याउँदै मनाइएको भएपनि यस बर्ष भने विभिन्न सरोकारवालाहरुको संयुक्त समन्वयमा भव्य रुपमा प्रयोगात्मक प्रशिक्षणमुलक कार्यक्रम सहित मनाउन लागिएको हो ।
योग दिवसलाई भव्यता साथ मनाउनका लागि जिल्ला समन्वय समितिले संयोजन गरेको छ भने जिल्ला स्वास्थ्य कार्यालय पर्वत, जिल्ला आयुर्वेद औषधालय र कुश्मा नगरपालिकाको समन्वयमा कार्यक्रम तय भएको छ । कार्यक्रम अनुसार माघ १ गते दिवसको अवसर पारेर जिल्ला अस्पतालदेखि कुश्मा नगरपालिकाको कार्यालय सम्म प्रभातफेरि र तत्पश्चात् करिव ३ महिनासम्म योगाभ्यास प्रशिक्षण सञ्चालन हुने भएको छ ।
स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख सन्तोष पौडेलले दिएको जानकारी अनुसार पतञ्जली योग प्रशिक्षण केन्द्रको समन्वयमा प्रशिक्षक उपलब्ध गराएर तीन महिना सम्म योग शिविर सञ्चालन गर्न लागिएको हो । उक्त शिविर ब्रम्हाकुमारी राजयोग प्रशिक्षण केन्द्र पर्वतको हलमा सञ्चालन गर्ने तयारी गरिएको पौडेलले बताउनुभयो ।
पछिल्लो समय योगाभ्यासलाई महत्व दिँदै आएकाले शिविर सञ्चालन गर्न लागिएको पौडेलले बताउनुभयो । शारिरीक स्वस्थताका निम्ति योगाभ्यास महत्वपूणर् रहेको स्वास्थ्य विज्ञानले पनि प्रमाणित गरिसकेकाले शिविर सञ्चालन गर्न लागिएको हो ।
योगाभ्यासका फाइदाहरूः
-योगले शरीरका अङ्ग प्रत्याङ्गहरूलाई चलायमान, उर्जावान, आवश्यकता अनुसार सक्रिय वा शान्त राख्छ र सकारात्मक प्रभाव पार्छ ।
– योगको अभ्यासले हाडजोर्नी नशानाडी र मांसपेशी, फोक्सो, मुटु, रक्तनली, पाचन तथा निष्कासन अङ्गहरूलाई स्वास्थ र सवल बनाउँछ । – योगको उचित अभ्यासले कम उमेरका ब्यक्तिमा उचाइ बढाउन सघाउँछ । स्मरण क्षमता वृद्धिमा सहयोगी हुन्छ, शरीरलाई तन्दुरूस्त बनाउँछ र स्वस्थ रहन सहयोग गर्छ ।
– नियमित योगाभ्यास गर्नाले नसर्ने रोगहरूको जोखिम कम हुन्छ ।
– नसर्ने रोगहरू जस्तै मधुमेह, उच्च रक्तचाप, दम, मुटुरोग, हाडजोर्नी, नसासम्बन्धी रोगहरूमा यो लाभदायक छ ।
– योगले जीवनशैलीलाई व्यवस्थित बनाउँछ र खराब जीवनशैलीका कारण उत्पन्न समस्याको जोखिम न्यून गर्दछ ।
– योगले मनलाई शान्त, आनन्दित, उत्साहित र उर्जावान बनाउँछ । यसले मानसिक समस्याहरू जस्तै तनाव र चिन्ताजन्य समस्याहरू, बेचैनी, नकारात्मक सेग, आलस्यता लगायत रिस, इर्ष्या, हीनताबोध, शङ्काबोधजस्ता नराम्रा भावहरूलाई घटाउँछ । यसले मानसिक सबलता वृद्धि गर्छ र मनको कमजोरी हटाउँछ ।
– योगले व्यक्तिलाई अनुशासित बनाउँछ । धुम्रपान, मद्यपान, सूर्तिजन्य पदार्थको सेवन र लागु औषध सेवनजस्ता कुलतबाट बचाउन मद्दत गर्दछ ।









