पर्वत, ३० पुस
महिलाहरुको सहभागिता र महिलाहरुको मात्रै लगानीमा पर्वत जिल्लामा सञ्चालित महिला कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाको चौँथो साधारणसभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ । पर्वतको कुश्मा बजार क्षेत्रमा रहेर कुश्मा नगरपालिकालाई कार्यक्षेत्र बनाएको सहकारीको शुक्रबार साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो ।
२०७६ सालदेखि कारोबार सञ्चालनमा ल्याएको सहकारीले हाल सम्म ३ करोड भन्दा बढी पुजी अभिबृद्धि गरेको छ । ८१ जना महिलाहरुको सक्रियतामा झण्डै ७५ लाख रुपैँयाबाट सहकारी अभियान सञ्चालन गरेको सहकारीले अहिले उक्त प्रगति गर्न सफल भएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा सहकारीका सल्लाहकार कमलनाथ शर्माले महिलाहरुले बचत गर्ने र ऋण आदान प्रदान गर्ने मात्रै नभएर सहकारी मार्फत सामाजिक सचेतनाका कार्यक्रमहरु समेत सञ्चालन गर्न सुझाव दिनुभएको थियो । उहाँले सहकारी बहुउद्देश्यीय भएका कारण अन्य उत्पादनमुलक क्षेत्रमा समेत काम गर्न अनुरोध गर्नुभएको थियो ।
साधारणसभाका अवसरमा सहकारीले उत्कृष्ठ ऋणीका रुपमा शान्ति शर्मा, उत्कृष्ठ बचतकर्ताका रुपमा सुनिता भूषाल र बैठकमा नियमित सहभागितामा उपाध्यक्ष सिताकुमारी पौडेललाई सम्मानित गरेको थियो । साथै शेयर सदस्यका एसइइ परीक्षामा उत्कृष्ठ ३ जना विद्यार्थीलाई समेत सहकारीले सम्मानित गरेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, सल्लाहकार मानकुमारी गिरी लगायतले बोल्नुभएको थियो भने अध्यक्ष सरस्वती भण्डारीले भावी कार्ययोजना, सचिव प्रभारत्न श्रेष्ठले प्रगति प्रतिवेदन र कोषाध्यक्ष जीवन कुमारी शर्माले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
सहकारीले दोश्रो अधिवेशनबाट पुनः सरस्वती भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सिता कुमारी पौडेल, सचिवमा जीवनकुमारी शर्मा र कोषाध्यक्षमा शान्ति शर्मा चयन हुनुभएको छ ।









