अपडेट ः विहान १०ः३० बजे
पर्वत, ७ मंसिर ः पर्वतमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । सोमवार साँझदेखि शुरु भएको मतगणनामा कुल खसेका ६६ हजार २ सय २६ मध्ये अहिलेसम्म प्रतिनिधि सभा तर्फ ३५ हजार ६२ मत गणना भएको छ । जस मध्ये नेकपा एमालेका उम्मेदवार पदम गिरीले १६ हजार ३ सय ७९ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार अर्जुन जोशीले १५ हजार ३ सय ३२ मत प्राप्त गर्नुभएको छ । एमालेका गिरीले जोशीलाई १ हजार ४७ को फराकिलो अग्रता बनाउनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको मतगणना कार्यमा विहादी गाउँपालिका, पैञ्यु गाउँपालिका र जलजला गाउँपालिकाका सवै मतहरु गणना भइसकेका छन् भने मोदी गाउँपालिकाका केही केन्द्र, कुश्मा नगरपालिकाका अधिकांश भन्दा बढी मतदान केन्द्र, महाशिला गाउँपालिकाका दुई केन्द्र र फलेवास नगरपालिकाका अधिकांश मतदान केन्द्रका मतहरु गणना गर्न बाँकी रहेका छन् । कुल खसेका मत मध्ये प्रतिनिधि सभा तर्फ ३१ हजार १ सय ६४ मत अझै गणना गर्न बाँकी रहेका छन् ।
प्रतिनिधि सभा तर्फ महाशिला गाउँपालिकाको पाखापानी क केन्द्र, कुश्मा नगरपालिकाको बाल मन्दिर प्रावि क केन्द्र, मोदी गाउँपालिकाको नवजागृत मावि ग केन्द्र, फलेवासको ग्रामोदय मावि भंगरा क केन्द्र र कुश्मा नगरपालिकाकै शिवालय मावि केन्द्र गणना कार्य भइरहेको छ ।
प्रतिनिधिसभा तर्फ गणना गर्न बाँकी स्थानहरु
त्यस्तै कुश्मा नगरपालिकाको बालमन्दिर प्रावि ख केन्द्र, नारायण माविका सवै केन्द्रहरु र कुश्मा नगरपालिकाका वडा नं. ३, ७, ८, ९, १०, ११, १२ र १३ वडाका मतहरु गन्न बाँकी रहेका छन् । त्यस्तै फलेवास नगरपालिकाको भवानी विद्यापिठ मावि क, लगायत मुडिकुवा, देविस्थान, ठानामौला, लिमिठाना, कुर्घा, पाङराङ, कार्किनेटा र थापाठानाका मत गणना गर्न बाँकी रहेका छन् । मोदी गाउँपालिकाको भुकताङलेको एउटा केन्द्र जननेत्र मावि देउपुर क र ख, हिमालय मावि देउराली, क्याङको ख, बाजुङको सरस्वती मावि केन्द्र, नबजागृत माविको घ केन्द्र गणना गर्न बाँकी रहेका छन् । उता महाशिला गाउँपालिकाको भोक्सिङ केन्द्रको गणना बाँकी रहेको छ ।
प्रदेश सभा २ मा एमालेका उम्मेदवारको जीत सुनिश्चित, प्रदेश १ मा एमालेकै पल्ला भारी
यता प्रदेश सभातर्फ निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार मित्रलाल बस्यालले गणना गर्न बाँकी रहेका मत भन्दा दोब्बर मतले अग्रता लिनुभएको छ । बस्यालले कुल खसेका २८ हजार ३ सय १६ मत मध्ये १३ हजार ७ सय ४८ मत प्राप्त गर्नुभएको छ भने गठबन्धन तर्फका नेपाली कांग्रेसका ऋषिकेश तिवारीले ११ हजार ८ सय ५४ मत प्राप्त गर्नुभएको छ ।
अब ९ सय २९ मत मात्रै गणना गर्न बाँकी रहँदा बस्याल १ हजार ८ सय ९४ को फराकिलो मतान्तरले अगाडि हुनुहुन्छ । प्रदेश सभा क्षेत्र नं. १ तर्फ पनि नेकपा एमालेका उम्मेदवार भक्त कुँवरकै पल्ला भारी रहेको छ । जम्मा खसेको ३७ हजार ९ सय १० मतमा एमालेका कुँवरले १५ हजार ५ सय ३४ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार सुदिप कुँवरले १३ हजार ४ सय ६० मत प्राप्त गर्नुभएको छ । २ हजार ७ सय ७० मत गणना गर्न बाँकी रहेका छन् भने एमालेका कुँवरले २ हजार ७४ मतान्तरले अग्रता लिनुभएको छ ।









