पर्वत ४ असोज
संविधान दिवस-२०७९ का अवसरमा पर्वत कारागारमा रहेका ९ कैदीले आम माफी पाएका छन् । २ र्कतव्य ज्यान मुद्धाका अभियुक्त सहित २ जना ज्यान मार्ने उद्योग, २ जना चोरी, १ जना सवारी ज्यान र २ जना पशुपंक्षी कसुर मुद्धाका आरोपितले आम माफी पाएका हुन् ।
जिल्ला कारागार पर्वतले दिएको जानकारी अनुसार पर्वतमा ५१ प्रतिशत भन्दा बढी सजाय भुक्तान गरेका र असल चालचलन भएका कैदीलाई सजाय मिनाहा गरिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी भण्डारी मार्फत सर्वोच्च अदालतको आदेश समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन कैदीलाई मन्त्रिरिषद्को भदौ ३१ को निणर्यअनुसार असोज ३ गतेदेखि लागु हुने गरी आम माफी भएको हो ।
कैदीलाई नेपालको संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ बमोजिम माफी दिइएको हो । पर्वतमा कर्तव्य ज्यान मुद्धामा २० बर्ष कैद सजाय सुनाइएर पर्वत कारागारमा सजाय भुक्तान गरिरहेका जलजला गाउँपालिका ५ का विनोद सुवेदी र भिमप्रसाद सुवेदीले ४० प्रतिशत सजाय भुक्तान गरेपछि आम माफी पाएका छन् । त्यस्तै कुश्मा नगरपालिका १३ खौलालाँकुरीका नारायण दमै र फलेवास नगरपालिका ३ शंकरपोखरीका देवबहादुर नेपालीले ज्यान मार्ने उद्योगमा ५१ प्रतिशत सजाय भुक्तान गरेपछि आम माफी पाएका छन् ।
अन्य मोदी गाउँपालिका ७ का हरिप्रसाद सुवेदी र मोदी गाउँपालिका ३ का विनोद थापाले चोरी मुद्धा, कुश्मा नगरपालिका ७ का विष्णु खड्काले सवारी ज्यान मुद्धा र विहादी गाउँपालिका ३ बर्राचौरका चन्द्रबहादुर सार्की र भिबहादुर सार्कीले पशुंपक्षी सम्बन्धी कसुरबाट सजाय भुक्तानी गर्दा गर्दै आम माफी पाएका हुन् । आम माफी पाएका ९ जना कैदीलाई नै नियमानुसार आफन्तको जिम्मा लगाइएको कारागार कार्यालय पर्वतकी जेलर शिला श्रेष्ठले जानकारी दिइन् ।









