पर्वत, १ असोज
स्थानीय तहको निर्वाचन सम्पन्न भएको ४ महिना नवित्दै पर्वतमा ६ सय मतदाता थपिएका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङक अनुसार पर्वतमा गत स्थानीय तहको निर्वाचनमा भन्दा ५ सय ९९ बढी मतदाता थपिएका हुन् ।
निर्वाचन आयोगले नामवली संकलनमा सहभागी भएका तर १८ बर्ष उमेर नपुगेका मतदाताको नाम अद्यावधिक गरी थप गरेको हो । बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पर्वतमा १ लाख २२ हजार ५० मतदाता थिए भने आगमी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको सञ्चालन हुने दिन मंसिर ३ गते सम्म १८ बर्ष उमेर पुगेका थपिने भएका छन् । जस अनुसार ०७९ मंसिर ३३ गते सम्म पर्वतमा ५ सय ९९ मतदाता थपिएर १ लाख २२ हजार ६ सय ४९ जना मतदाता पुगेका छन् । जसमा ६० हजार ६ सय ५१ पुरुष र ६१ हजार ९ सय ९८ महिला मतदाता रहेका छन् ।
यसरी सार्वजनिक भएको मतदाता विवरण अनुसार पर्वतको प्रदेश सभा निर्वाचन अन्तर्गत प्रदेश क मा ६८ हजार ८८ मतदाता रहेका छन् भने प्रदेश ख मा ५४ हजार ५ सय ६१ मतदाता रहेका छन् । प्रदेश क क्षेत्रमा ३९ मतदान स्थल र ८२ केन्द्र रहने भएका छन् भने प्रदेश ख क्षेत्रमा ३५ स्थल र ६६ मतदान केन्द्र रहने भएका छन् ।
मंसिर ४ गते हुने भनिएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न गर्नका लागि पर्वतमा ७४ मतदान स्थल र १४८ मतदान केन्द्र कायम गरिएको छ । यस अघि भन्दा मतदाता संख्यामा बृद्धि भएका कारण १ वटा मतदान केन्द्र थप भएको जिल्ला निर्वाचन कार्यालय पर्वतका निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिनुभयो ।
यस अघि अर्थात २०७४ सालमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा पर्वतमा नेकपा एमालेका उम्मेदवार पदम गिरी विजयी हुनुभएको थियो । गिरीले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार अर्जुन प्रसाद जोशीलाई १२ हजार ४ सय ५६ मतको अन्तरले पराजित गराउनुभएको थियो । गिरीले जम्मा खसेको मतको ३९ हजार २ सय ७५ मत प्राप्त गर्दा जोशीले २६ हजार ८ सय १९ मत प्राप्त गर्नुभएको थियो ।
यस पटकको निर्वाचनमा पर्वतमा अझै कुनै पनि दलको टुंगो लाग्न सकेको छैन । जिल्ला कार्य समितिबाट विभिन्न चरणमा उम्मेदवारको नामावली प्रदेश तथा केन्द्रिय कमिटिमा पठाइएको जानकारी भएपनि ठूला राजनीतिक दलबाट एकल उम्मेदवार सिफारिस हुन नसक्दा को कस्ले निर्वाचनका लागि टिकट हात पार्ने हो भन्ने अझै निक्र्यौल गर्न सकिएको छैन । विशेष श्रोतका अनुसार वर्तमान पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अर्जुन जोशी र नेकपा एमालेका तर्फबाट पदम गिरी नै पुन प्रतिनिधि सभा सदस्य पदका लागि चुनावी मैदानमा होमिने देखिएको छ ।









