हुकुमी शासन हैन, कानुनी शासनको परिपालना गरौँ ः जोशी
पर्वत, २९ भदौ
स्थापना भएको झण्डै २५ बर्षपछि पर्वतको ठूलिपोखरीमा प्रहरी चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको २ करोड ४८ लाख लागतमा उक्त भवन निर्माण भएको हो । २०५४ सालमा स्थापित प्रहरी चौकी भवन निर्माण सँगै भाडाको घरबाट आफ्नै सुविधासम्पन्न भवनमा स्थानान्तरण भएको छ ।
गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको सहयोगमा २०७८ बैशाखमा निर्माण शुरु भएको थियो । निर्माणको जिम्मा लिएको पृथ्वी जयलक्ष्मी जेभीले करिव १५ महिनाको अन्तरालमा भवन निर्माण सम्पन्न गरी सोमबार हस्तान्तरण गरेको छ । पर्वतको कुश्मा नगरपालिका वडानं. १०, ११, १२, १३ र १४ लाई समेत सुरक्षा प्रदान गर्ने गरी स्थापना भएको प्रहरी कार्यालय विगतको द्वन्दकालिन समयमा भाडाको घरमा बस्दै आएको थियो भने पछिल्लो समय स्थानीयबासीहरुको सहयोगमा स्थानीय विद्यालयको लाइब्रेरी भवनबाट सञ्चालन हुँदै आएको थियो । भवनको उद्घाटन समारोहमा बोल्दै नेपाल प्रहरी गण्डकी प्रदेश कार्यालय कास्कीका प्रमुख प्रहरी नायव महानिरिक्षक रामदत्त जोशीले भवन मात्रै गुणस्तरीय र सुविधा सम्पन्न भएर नहुने भन्दै स्थानीयबासीहरुलाई प्रभावकारी, निष्पक्ष सेवा दिएर मन जित्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो । कार्यक्रममा बोल्दै जोशीले नेपाल प्रहरीको काम कर्तव्य अधिकार कानुनी शासन स्थापित गराउने भएको बताउँदै कसैको हुकुमी शासनले प्रहरी प्रभावित नहुने समेत आग्रह गर्नुभयो ‘हाम्रो मुख्य काम भनेको कानुनी शासन स्थापित गराउने हो, हुकुमी शासन हैन’ उहाँले भन्नुभयो ‘कानुनको आधारमा रहेर सर्वसाधरणलाई न्याय दिलाउन प्रहरी लाग्नुपर्छ’ उहाँले प्रहरीलाई विभिन्न क्षेत्रबाट कानुन विपरितका कार्य गर्न दबाब आएपनि त्यस्ता कार्यमा सम्झौता नगर्न निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजालले सुविधासम्पन्न भवन निर्माण सँगै सेवामा पनि गुणस्तर र विश्वासिलो हुने अपेक्षा व्यक्त गर्नुभयो । रिजालले कुश्मा नगरपालिकाको तर्फबाट प्रहरी प्रमुख जोशीलाई मायाको चिनो प्र्रदान गर्नुभएको थियो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी श्रीप्रसाद पौडेल, कुश्मा १२ का वडाअध्यक्ष झलक रिमाल लगायतले बोल्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले गण्डकी प्रदेश प्रहरी प्रमुख जोशीको निर्देशनलाई जिल्लामा अक्षारांश पालना गर्ने प्रतिबद्धता सँगै कार्यक्रम समापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक प्रकाश रावतले गर्नुभएको थियो ।
हुकुमी शासन हैन, कानुनी शासनको परिपालना गरौँ ः जोशी (भिडियो सहित)









