पर्वत, १९ साउन,
पर्वत उद्योग बाणिज्य संघको समन्वयमा पर्वतमा व्यवसायीहरुका लागि कर शिक्षा कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ । संघले नयाँ आर्थिक मौद्रिक नीति तथा नयाँ अर्थव्यवस्था बारे व्यवसायीहरुलाई सचेत गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
करदाता सेवा कार्यालय कुश्माको आयोजनामा बुधबार आयोजित कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बागलुङका कर अधिकृत शालिग्राम आचार्य सहितको टोलीले व्यवसायीहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा आय कर, प्यान नम्बर दर्ता हुनाका लागि आवश्यक पर्ने कागजातहरु, आयकरमा दर्ता कसरी गर्ने, प्रालिमा दर्ता कसरी गर्ने, आय कर विवरण कसरी पेश गर्ने, दर्ता खारेजी, अग्रीम कर कट्टी, मुल्य अभिबृद्धि करमा दर्ता कसरी गर्ने, दर्ता भएपछि गर्नु पर्ने कार्यहरु, लेखा विवरणहरु कसरी राख्ने, कर विजक, सामाजिक सुरक्षा कर, शिक्षा कर, स्वास्थ्य कर लगायतका बारेमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत शालिग्राम आचार्यले व्यवसायीहरुलाई नयाँ आर्थिक मौद्रिक नीतिका बारेमा जानकारी गराएका थिए । उनले करदाता र कर प्रशासन बीचको दुरी कम गर्नु पर्ने, करदातालाई सरल र सुलभ तवरले कर तिर्न सक्षम बनाउनु पर्ने लगायतका कुरामा जोड दिए ।
कार्यक्रममा कर अधिकृत शिवप्रसाद ढुंगाना, रमाकान्त पौडेल लगायतले प्रशिक्षण दिएका थिए । पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले करका विषयमा पर्वतका व्यवसायीहरुलाई सचेत गराउन उद्योग बाणिज्य संघले विगत देखिनै प्रशिक्षण सहितका कार्यक्रम हरु सञ्चालन गरेको बताउँदै व्यवसायमा कुनै अप्ठ्यारो अबस्था आउन नदिन आफु सँधै व्यवसायीहरुको साथमा रहेको बताएका थिए ।









