पर्वत, २१ साउन ।
लेखापरीक्षकहरुको संस्था नेपाल अडिटर्स एशोसिएशन (अडान) पर्वतको १७ औं स्थापना दिवस मनाइएको छ । शुक्रबार पर्वत अस्पतालमा एक कार्यक्रमको आयोजना गरी अडानले स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै अडानका केन्द्रीय सदस्य भोलानाथ शर्माले लेखापरीक्षकहरु आफ्नो व्यवसायिक हक हितका लागि सँधै एकिकृत हुनुपर्ने बताउनुभयो । पर्वत अस्पतालमा रहेका विरामीहरुलाई फलफुल वितरण कार्यक्रमको समापनका अवसरमा बोल्दै शर्माले सुशासन कायम गराउनका लागि लेखापरीक्षकहरुको महत्वपूणर् भूमिका रहेको बताउँदै राज्यका जुनसुकै निकायमा पारदर्शीता कायम गराउन लेखापरीक्षकहरुको भूमिका उल्लेख्य रहेको बताउनुभयो ।
पर्वतमा हाल १५ जना लेखापरीक्षक रहेका छन् । शुक्रबार आयोजित कार्यक्रमका अवसरमा अस्पतालमा रहेका ३० जना विरामीहरुलाई फलफुल वितरण गरिएको थियो । शेषराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले स्थापना दिवसका अवसरमा विरामीहरु समक्ष पुगेका लेखापरीक्षकहरुलाई धन्यवाद सहित शुभकामना दिनुभएको थियो ।
अडान पर्वतका सचिव हेमराज लामिछानेले सञ्चालन गरेको कार्यक्रममा अडान पर्वतबाट निर्वाचित केन्द्रीय प्रतिनिधि देवीप्रसाद विलासी लगायतको सहभागिता रहेको थियो ।








