पर्वत, १७ साउन
व्यवसायीहरुको नीजि क्षेत्रको संस्था पर्वत उद्योग बाणिज्य संघले सातौ पर्वत महोत्सवका लागि ६ महिना अगावै तयारी थालेको छ । पर्वत जिल्लाको स्थानीय उत्पादन तथा व्यवसाय र पर्यटन प्रबद्र्धनलाई मुख्य लक्ष्य बनाएर उद्योग बाणिज्य संघले सातौ महोत्सवको तयारी गरेको हो ।
माघ ५ देखि १५ गते सम्म सञ्चालन गर्ने गरी मिति तय गरेर विभिन्न उपसमितिहरु समेत बनाएको पर्वत उद्योग बाणिज्य संघले जानकारी दिएको हो । पर्वत उद्योग बाणिज्य संघको हालै सम्पन्न १२ औं बोर्ड बैठकले महोत्सव सञ्चालनका लागि तीन उपसमिति गठन गरेको छ । वर्तमान अध्यक्ष गोपी अधिकारी मुल संयोजक रहने गरी आर्थिक उपसमिति संयोजकमा बरिष्ठ उपाध्यक्ष ठाकुर वि पौडेल, प्रचारप्रसार उपसिमिति संयोजकमा महासचिव रमेश शर्मा लामिछाने र स्टल तथा रमाइलोमेला व्यवस्थापन उप समितिमा मानसिंह भण्डारीलाई संयोजक तोकेर तयारी शुरु गरिएको हो ।
महोत्सव सञ्चालनका लागि प्रायोजक, सहप्रयोजक तथा अन्य सहयोगी निकायसमक्ष समयमा नै पुगेर महोत्सव सञ्चालन सँगै सफलतामा पुर्याउनका लागि आर्थिक बर्ष शुरु भए लगत्तै तयारी थालिएको अध्यक्ष गोपी अधिकारीले बताउनुभयो ।
विगतमा विभिन्न संघ संस्था तथा नीजि प्रतिष्ठानहरुले महोत्सवका नाममा पर्वतको पहिचानलाई नै असर गर्ने गरी विभिन्न गतिविधिहरु गरेको सन्दर्भमा समेत बैठकमा व्यापक छलफल गरी भोलिका दिनमा पर्वत जिल्लाको पहिचानलाई थप स्थापित गर्ने गरी महोत्सव आयोजना गर्न लागिएको संघले जनाएको छ । केन्द्रीय नीति तथा प्रावधान अनुसार जिल्लामा महोत्सव सञ्चालन गर्न व्यवसायिक संघ संस्थालाई अधिकार प्रत्यायोजन गरिएको भएपनि स्थानीय प्रशासनले अन्य निकायलाई स्वीकृत दिएकोमा आगमी दिनमा त्यसो हुन नदिन स्थानीय प्रशासन समक्ष सुझाव सहित छलफल गर्ने योजना बनाइएको अध्यक्ष अधिकारीले बताउनुभयो ।









