पर्वत, १३ साउन ।
कानुन व्यवसायीहरुको संस्था नेपाल बार एशोसिएन पर्वत बार इकाईको १८ औं जिल्ला अधिबेशनले दिलिपराज पौडेलको नेतृत्वमा नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार पर्वतमा सम्पन्न भएको अधिवेशनले पौडेलको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
पौडेल अध्यक्ष रहेको समितिमा उपाध्यक्षमा हरिनारायण रेग्मी, सचिवमा पुण्यप्रसाद सुवेदी, कोषाध्यक्षमा डिल्लिराम पौडेल रहेका छन् भने सदस्यहरुमा क्रमशः राजेन्द्रप्रसाद भूसाल, विश्वराज पाण्डे, जगदिश पौडेल, तेजराज चापागाई र यज्ञ बहादुर थापा रहेका छन् ।
सोही अधिबेशनले संस्थापक अध्यक्ष डम्मरु शर्मा सहित पुर्व अध्यक्ष भोलानाथ शर्मा, विश्वप्रकाश प्रसाई र निवर्तमान अध्यक्ष चन्द्रबहादुर क्षेत्रीलाई केन्द्रीय पार्षदमा चयन गरेको छ । सोही अधिवेशनले पर्वत बार इकाईको तर्फबाट मानवअधिकार तथा जनसरोकार समितिको संयोजकमा जगदिश पौडेललाई चयन गर्ने निणर्य समेत गरेको छ ।
अधिबेशन उद्घाटनको सन्दर्भमा बोल्दै प्रमुख अतिथि जिल्ला न्यायधिश बलराम त्रिपाठीले जिल्लाको न्याय सम्पादनमा कानुन व्यवसायीहरुको उल्लेख्य भूमिका रहेको बताउनुभएको थियो । उहाँले जिल्लाबासीहरुलाई न्यायिक सन्तुष्टि प्रदान गर्नका लागि अदालतको मात्र नभई कानुन व्यवसायीहरु सक्षम भएमा मात्रै न्याय सन्तुलन हुने कुरा जोड दिनुभयो ।
नेपाल बार एशोसिसन पर्वत बार इकाई पर्वतको मानवअधिकार सम्बद्ध संस्था मध्ये एक हो । पर्वतमा मानवअधिकारका क्षेत्रमा बारले उल्लेख्य भूमिका निर्वाह गर्दै आएको र आगमी दिनमा पनि उक्त भूमिकालाई थप शसक्त बनाएर अघि बढ्ने वर्तमान अध्यक्ष दिलिपराज पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभयो ।









