पर्वत, १५ असार
असार १५ अर्थात धान दिवसको अवसर पारेर पर्वतको कुश्मा नगरपालिका वडा नं. ११ पकुवामा रोपाई कार्यक्रम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना धान जोन, जिल्ला कृषि ज्ञान केन्द्र पर्वत लगायतको आयोजना तथा साना किसान कृषि सहकारी संस्था पकुवाको संयोजनमा कार्यक्रम सञ्चालन भएको थियो ।
कार्यक्रमको अवसरमा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले पर्वत जिल्लाको मुख्य बाली र उत्पादनका रुपमा रहेको धान खेतीलाई विस्तार र विकासका लागि सवै क्षेत्रको सहयोग उत्तिकै आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा विकले जिल्ला भरको बाँझो जमिनको तथ्याङ्क संकलन गरी युवा वर्गलाई उत्पादनशिल कार्यमा लगाउन समेत जिल्लाका सम्पूणर् स्थानीय तहलाई आग्रह गर्नुभयो ।
पकुवामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले स्थानीय स्तरमा विकासोन्मुख कृषि प्रणाली लागु भए सँगै उन्नत जातको धानखेती भइरहेको कुरालाई समेत प्रष्टाउँदै माग अनुसार मुल्य समायोजन गरेर विक्रिवितरणमा ध्यान दिन कृषकलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापा, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका निमित्त प्रमुख सुजित पौडेल, वडाध्यक्ष बाबुराम शर्मा लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन परियोजनाका अधिकृत नारायणप्रसाद शर्माले गर्नुभएको थियो ।
धान रोपाई कार्यक्रम सञ्चालन पुर्व परियोजना अन्तर्गत भएका विभिन्न कार्यक्रमहरुको समेत अनुगमन भएको थियो । अनुगमनका क्रममा स्थानीय विरेन्द्र माध्यमिक विद्यालय प्राविधिक शिक्षालय अन्तर्गत सञ्चालित कृषि तथा भेटेरिनरी तर्फ भएका विभिन्न गतिविधि तथा शिक्षण सिकाई क्रियाकलापहरुको अवलोक गरिएको थियो ।









