पर्वत, १८ असार
पर्वत र बागलुङ जिल्लामा सञ्चालित विभिन्न विद्यालयमा अध्यापनरत शिक्षकलाई शिक्षण सिकाई पद्धति सम्बन्धि तीन दिने तालिम सम्पन्न भएको छ । स्वावलम्बन जीवन पद्धति केन्द्र पोखराको आयोजनामा पर्वत सदरमुकाम कुश्मा बजारमा शिक्षकहरुलाई तालिम सञ्चालन गरिएको हो ।
केन्द्रले विश्व शिक्षाको सहयोगमा पर्वत, बागलुङ र स्याङजा जिल्लाका विभिन्न ५१ वटा विद्यालयमा कार्यक्रम सञ्चालन गरेको छ । विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रम सञ्चालन सँगै प्रत्येक जिल्लामा तालिमको आयोजना गरी विशेष कक्षा सञ्चालन गरेका विद्यालयका शिक्षकहरुलाई क्षमता अभिबृद्धि गर्ने र शैक्षिक गुणस्तरमा थप सहयोग पुर्याउन मद्धत पुग्ने कार्यक्रमहरु आयोजना गरिएको स्वबलम्बन जीवन पद्धति केन्द्र पोखराका कार्यक्रम संयोज प्रदिप रानाले जानकारी दिनुभयो ।
कुश्माबजारमा सञ्चालन भएको तालिममा पर्वत र बागलुङ गरी ११ विद्यालयका २१ जना शिक्षकहरुको उपस्थिति रहेको थियो । तालिममा शिक्षक बलराम रिजाल र भिमराज सापकोटाले सहजिकरण गर्नुभएको थियो । केन्द्रका कार्यक्रम संयोजक रानाका अनुसार स्रोत कक्षा सहित प्रविधियुक्त शिक्षातर्फ उन्मुख भएका विद्यालयहरुलाई विशेष प्राथमिकता दिएर कार्यक्रम सञ्चालन भएको हो । पर्वतको कुश्मा नगरपालिका र महाशिला गाउँपालिकाका विद्यालयमा यो कार्यक्रम सञ्चालन भए सँगै शैक्षिक गुणस्तरमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । तीन दिन सम्म सञ्चालन भएको तालिममा केन्द्रका फिल्ड अधिकृत टुकप्रसाद शर्मा र अस्मिता गुरुङले व्यवस्थापकीय सहजिकरण गर्नुभएको थियो ।









