पर्वत, ६ वैशाख
पर्वतको जलजला गाउँपालिका वडा नं. ९ बनौंमा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) को आयोजना तथा जिल्ला ट्राफिक कार्यालय पर्वतको समन्वयमा बनौं माध्यमिक विद्यालयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
पछिल्लो समय पर्वतका ग्रामीण सडकहरुपनि कालोपत्रे हुने क्रम बढेको र कतिपय कालोपत्रेको चरणमा रहेका कारण सडक दुर्घटनालाई मध्यनजर गर्दै आयोजनाले उक्त कार्यक्रम सञ्चालन गरेको हो । अहिले मध्यपहाडी लोकमार्गको पोखरा बागलुङ सडक खण्डमा पर्ने अर्मादी देखि बनौं सम्म कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । आरसिआइपीले उक्त कालोपत्रे गर्ने कार्यलाई अन्तिम रुप दिन लागेको र बालबालिका तथा बृद्धबृद्धाहरु सडक दुर्घटनाको उच्च जोखिममा रहने भएका कारण सचेतना कार्यक्रम सञ्चालन गरिएको आयोजनाका कर्मचारी दयाराम शर्माले जानकारी दिनुभयो ।
आयोजनाले सामुदायिक परामर्श कार्यक्रम अन्तर्गत उक्त सचेतना कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा विद्यार्थी अभिभावक गरी करिव ८० जनाको सहभागिता रहेको थियो ।









