पर्वत, २९ चैत
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले पर्वतका गाउँ गाउँमा अभियानका रुपमा राष्ट्रिय परिचय पत्र विवरण अद्यावधिक गर्ने कार्य शुरु गर्ने भएको छ । बैशाख पहिलो साता देखि विभागले पर्वतका स्थानीय तहको समन्वयमा उक्त कार्य शुरु गर्न लागेको हो ।
हालै एक कार्यक्रमको आयोजना गरी विभागले पहिलोचरण पर्वतको कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा उक्त अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको हो । विभागका महानिर्देशक तिर्थराज भट्टराइले दिएको जानकारी अनुसार हालसम्म नेपालका ७७ जिल्ला मध्ये ३१ जिल्लामा अभियानका रुपमा सञ्चालन भइसकेको छ पछिल्लो चरणमा १३ जिल्लामा अभियान सञ्चालन हुँदै गरेको र उक्त अभियानका क्रममा पर्वतमा सञ्चालन हुन लागेको हो । महानिर्देशक भट्टराइका अनुसार पर्वतमा चालु आर्थिक बर्षमा सवै नागरिकलाई राष्ट्रिय परिचय पत्रको दायरामा ल्याउने गरी काम सञ्चालन हुन गइरहेको छ ।
२०७६ देखि शुरु भएको राष्ट्रिय परिचय पत्र अद्यावधिक अभियानमा नेपालमा हाल सम्म ७० लाख नागरिकले प्रविष्ट गरिसकेको विभागका निर्देशक ललितकुमार बस्नेतले बताउनुभयो । चालु आर्थिक बर्षमा १ करोड नेपालीको व्यक्तिगत तथा जैविक विवरण अनलाइनमा भर्ने मुख्य योजना सहित काम भइरहेको बताउँदै साउनबाट परिचय पत्र वितरण कार्यलाई अघि बढाइने निर्देशक बस्नेतले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले पर्वतका नागरिकलाई बढी भन्दा बढी अभियानमा सहभागी गराउन स्थानीय सञ्चारकर्मी, राजनीतिक दल, जनप्रतिनिधि लगायतलाई आग्रह गर्नुभएको थियो । पछिल्लो समय राष्ट्रिय परिचय पत्रलाई मुख्य आवश्यकताका रुपमा लिने क्रम अघि बढिरहेको सन्दर्भमा सवैलाई तत्सम्बन्धमा बुझाउन समेत सापकोटाले आग्रह गर्नुभयो ।
पछिल्लो समय राहदानी बनाउने क्रममा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरिएको छ । विभागले राष्ट्रिय परिचय पत्रलाई एकमा अनेक भन्ने मुख्य उद्देश्यका साथ अद्यावधिक गर्ने कार्य अघि बढाएको छ । जस अनुसार नेपाली नागरिकले राहदानी लिन, बैंक तथा वित्तीय क्षेत्रमा कारोबार गर्न, व्यक्तिगत घटना दर्ता गर्न, सम्पत्ति खरिद विक्रि गर्न, मतदान गर्न, राहत तथा अनुदान लिन, सामाजिक सुरक्षा भत्ता लिन लगायतका कार्यमा परिचय पत्रको आवश्यकता पर्ने गरी काम अघि बढेको विभागले जनाएको छ।









