पर्वत, २६ चैत
पर्वतको फलेवास नगरपालिकाले पालिकाका भित्रका सवै टोलमा स्ट्रेचरको सुविधा उपलब्ध गराएको छ । गाउँपाालिकाले एक कार्यक्रमको आयोजना गरी फलेवास नगरपालिकाको ११ वडा भित्र रहेका सवै टोलमा गठित स्वास्थ्य आमा समुहलाई स्ट्रेचर प्रदान गरेको हो ।
नेपालका स्थानीय तह मध्ये उत्कृष्ठ १० मा पर्न सफल फलेवास नगरपालिकाले गाउँमा आकस्मिक दुर्घटना तथा विरामीहरुलाई सडकको पहुँच सम्म पुर्याउन र सँग सँगै अस्पताल सम्म समयमा पुर्याउन सहज होस् भन्ने उद्देश्यले स्ट्रेचर वितरण गरेको हो ।
नगरपालिका प्रमुख पदमपाणी शर्माका अनुसार ११ वडाका ९७ टोलमा गठित स्वास्थ्य आमा समुहलाई स्ट्रेचर वितरण गरिएको हो । वितरण कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख शर्माले नगरबासीहरुको स्वास्थोपचार प्रति गम्भिर चासो दिँदै स्ट्रेचर वितरण गरिएको बताउनुभयो । उहाँले नगरपालिकाका प्रत्येक वडामा गर्भवती महिलालाई लक्षित गर्दै भिडियो एक्स रे सेवा समेत प्रारम्भ भएको बताउँदै स्थानीय स्तरमा नै प्रविधियुक्त स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिकाले उल्लेख्य कार्य गर्दै आएको बताउनुभयो ।
स्वास्थ्य शाखा प्रमुख रुद्रप्रसाद सापकोटाले फलेवास नगरपालिकाले बालबालिका देखि बृद्धबृद्धा सम्मका लागि स्वास्थ्य सेवामा सहजता ल्याउन विभिन्न कार्यहरु गरेको बताउँदै नगरपालिकाले सञ्चालन गरेका कार्यहरुमा सँधै साथ र सहयोगको आवश्यकता रहेको बताउनुभएको थियो ।









