पर्वत, ९ बैशाख
आज देखि देशभर २०७८ सालको एसइइ परीक्षा शुरु भएको छ । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईईको लागि पर्वतमा २ हजार ३ सय ४४ विद्यार्थीले सहभागिता जनाउने भएका छन् ।
जिल्ला विकास तथा समन्वय ईकाईका प्रमुख रामेश्वर लामिछानेका अनुसार जिल्लाका सात ओटै स्थानीय तहमा १९ परीक्षा केन्द्रमा आज परीक्षा शुरु भएको हो । परीक्षाको लागि १९ जना केन्द्राध्यक्ष, २० जना सहायक केन्द्राध्यक्ष, एक सय १८ जना निरीक्षक, २४ जना परीक्षा सहायक, ४६ जना कार्यालय सहयोगी तथा सुरक्षाको लागि कम्तीमा पनि एक सय जना प्रहरीहरुको व्यवस्थापन गरिएको छ ।
इकाई प्रमुख लामिछानेका अनुसार गत वैशाख ५ मा बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकबाट १९ ओटा केन्द्र राख्ने निणर्य भएको र केन्द्राध्यक्षको रुपमा केन्द्र रहेको विद्यालयको प्रधानाध्यापकलाई नै राख्ने निणर्य भए अनुसार नै केन्द्राध्यक्षको व्यवस्थापन गरिएको हो ।
यस बर्ष दृष्टिविहिन स्रोतकक्षाबाट दुई जना विद्यार्थी सहभागी हुदै छन् भने कुल विद्यार्थी मध्ये १ हजार १ सय ८२ जना छात्र र १ हजार १ सय ६२ जना छात्राले परीक्षामा सहभागी हुने भएका छन् ।
यस वर्षको एसईई परीक्षामा जलजला गाउँपालिकामा दुई ओटा, कुश्मा नगरपालिकामा छ ओटा, फलेवास नगरपालिकामा तीन ओटा, बिहादी गाउँपालिकामा दुई ओटा, पैयूँ गाउँपालिकामा दुई ओटा, मोदी गाउँपालिकामा दुई ओटा र महाशिला गाउँपालिकामा दुई ओटा केन्द्रहरु रहेका छन् । ती केन्द्रहरुमा नियमित तर्फका २२ सय ८३ जना, स्तर वृद्धिका २८ जना र प्राविधिक विषयतर्फका ३३ जना गरी कुल २ हजार ३ सय ४४ जना परीक्षार्थीहरु सहभागी हुँदै छन् । ती केन्द्रहरुमा जिल्लाका ८० ओटा सामुदायिक र १२ ओटा संस्थागत विद्यालयका विद्यार्थीहरु रहेका छन् ।
नियमित परीक्षार्थी अन्तर्गत खुल्ला विद्यालय अन्तर्गत शिवालय माध्यमिक विद्यालय कुश्माबाट १० जना सहभागी हुन लागेको पनि ईकाई प्रमुख लामिछानेले जानकारी दिए ।
परीक्षाको स्थानीय तहको शिक्षा शाखा, राष्ट्रिय परीक्षा बोर्ड, जिल्ला परीक्षा समन्वय समिति, सामाजिक विकास कार्यालय, निर्देशनालय, समन्वय इकाई लगायतका पर्यवेक्षकहरुबाट अनुगमनको व्यवस्था गरिएको छ ।









