पर्वत १० चैत ।
पर्वतमा करिव १३ महिनामा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत देवी पाण्डे खत्रीलाई पर्वतमा विभिन्न क्षेत्रबाट विदाइ गरिएको छ । प्रजिअ खत्रीको सरुवा भएसँगै कर्मचारी मिलन केन्द्र, पर्वत उद्योग बाणिज्य संघ लगायतका संघ संस्थाहरुले फेरि भेटौला कार्यक्रम सँगै जिल्लाबाट विदाई गरेका छन् ।
बुधबार पर्वत उद्योग बाणिज्य संघले पनि खत्रीको विदाई सँगै सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापा, शसस्त्र प्रहरी उपरिक्षक नरेन्द्र बम लाई स्वागत गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खत्रीले पर्वतमा मातहतका सुरक्षा निकाय पछिको गतिलो र नजिकको सम्बन्धका रुपमा नीजि क्षेत्रसँग रहेको र यो सहकार्य भोलिका दिनमा सँधै अविस्मरणीय रहेको बताउनुभयो । खत्रीले विशेष पर्वतमा कोरोना कालमा आफ्नो धेरै समय वितेको बताउँदै कोरोना रोकथाम तथा व्यवस्थापनमा नीजि क्षेत्र सँगै पर्वतमा क्रियाशिल सञ्चारकर्मी सँगको सम्बन्ध प्रगाढ बनेकै कारण आफुहरु सफल भएको बताउनुभयो ।

खत्रीले आफु जिल्ला भित्रिदै गर्दा विभिन्न संघ संगठन र महासंघका निर्वाचनहरु भइरहेका र त्यतिबेला आफुलाई यो वा त्यो कारण देखाएर राजनीतिक आरोप लगाएपनि आफु सँधै पर्वतबासीको पक्षमा रहेर काम गरेको जिकिर गर्नुभयो ।
उहाँले पर्वत पर्यटकीय हबका रुपमा विकास हुँदै गएको तथ्य औल्याउँदै नीजि क्षेत्रको प्रयासले जस्तोसुकै सम्भावनामा पनि बास्ताविकतामा आउन सक्ने कुरा पर्वतका व्यवसायीहरुले देखाएको बताउनुभयो । उहाँले जिल्लाको समग्र विकासका लागि नीजि क्षेत्रले भूमिका खेलेकै कारण देखको प्रमुख पर्यटकीय शहरका रुपमा विकसित पोखरा पनि अहिले गौण बन्दै गएर पर्वत जिल्ला नेपालका पर्यटकीय जिल्ला मध्ये पहिलो नाममा आउने अवस्था आएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
खत्रीले पर्वतको पर्यटन विकास सँगै जिल्ला भित्रका व्यवसायीहरुलाई आचारण परिवर्तनमा उद्योग बाणिज्य संघले भूमिका खेल्न समेत सुझाव दिनुभयो । उहाँले जिल्लामा पर्यटकहरु भित्रिने क्रम बढ्दै गएपनि जिल्ला भित्रका व्यवसायीहरुमा आतिथ्यता ‘हस्पिटालिटी’ मा कमजोरी रहेको बताउँदै त्यसको सुधारका लागि संघले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपी अधिकारीले मायाको चिनो सहित पर्वतका उद्यमीहरुले निर्माण गरेको घरेलु उत्पादन प्रदान गर्नुभएको थियो । अध्यक्ष अधिकारीले सुरक्षा निकाय सँग नीजि क्षेत्रको नङ मासु जस्तै सम्बन्ध रहँदै आएको र भोलिका दिनमा पनि त्यही सम्बन्ध बढ्दै जाओस् भन्दै फेरि भेटौला सहितको शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको समापन गर्दै निवर्तमान अध्यक्ष केदारनाथ शर्माले जिल्ला प्रशासन कार्यालय पर्वत र पर्वत उद्योग बाणिज्य संघ बीच जिल्लाका धेरै गतिविधिहरुमा सहकार्य आवश्यक रहेको सन्दर्भमा जुन सम्बन्ध बन्यो त्यो अविस्मरणीय रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी खत्रीले सुझावका रुपमा दिएका शब्दहरुलाई ग्रहण गर्दै अघि बढ्ने बताउनुभयो ।
प्रजिअ खत्री पर्वत जिल्लामा १ बर्ष १ महिना कार्यरत रहेर गृह मन्त्रालयमा सरुवा हुनुभएको छ भने पर्वतमा प्रमुख जिल्ला अधिकारीका रुपमा नारायणप्रसाद सापकोटा आउदै हुनुहुन्छ ।









