पर्वत १० चैत
द्वन्द व्यवस्थापन पछि गाउँ गाउँमा रहेका अबैध हतियारलाई बैधानिकता दिन जिल्ला प्रशासन कार्यालय पर्वतले इजाजत प्रदान गरेका हतियार नजिकको प्रहरी इकाइमा बुझाउन पर्वत प्रशासनले अनुरोध गरेको छ ।
आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको र उक्त निर्वाचनलाई लक्षित गर्दै इजाजत प्राप्त गरेका हातहतियार बुझाउन आग्रह गरिएको हो । जिल्ला प्रशासन कार्यालय पर्वतले चैत

७ गते एक सुचना जारी गर्दै चैत २५ गते सम्म हातहतियार बुझाउन आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले इजाजत प्राप्त हातहतियारहरु निर्वाचन सम्पन्न पश्चात् उहाँहरुलाई नै फिर्ता गर्ने गरी हातहतियार धनीहरुलाई नजिकको प्रहरी इकाईमा बुझाउन अनुरोध गरिएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले हातहतियार खरखजाना ऐन, २०१९ को दफा ८ बमोजिम जिल्लामा विभिन्न व्यक्तिहरुसंँग रहेका इजाजतपत्र प्राप्त हातहतियारहरु आगामी चैत २५ गतेभित्र स्थानीय प्रहरी कार्यालयहरुमा अनिवार्य रुपमा बुझाउन आग्रह गरिएको र कार्यालयको आग्रहलाई अटेर गरी संवेदनशिल हातहतियार नबुझाएमा कानून बमोजिम कारवाहिको दायरामा ल्याईने थापाले बताउनुभयो ।
पर्वतमा हाल विभिन्न प्रकारका ७५ जना व्यक्तिहरुले हातहतियार दर्ता गराएका छन् । जस मध्ये दुई जना जिल्ला बाहिरका व्यक्तिहरुले पर्वतमा हातहतियार दर्ता गराएका हुन् ।हातहतियार दर्ता गराएर हरेक बर्ष नविकरण गर्नुपर्ने प्रावधान रहेपनि जिल्ला प्रशासन कार्यालय पर्वतमा नविकरणको यथेष्ट तथ्याङ्क छैन । नविकरण गर्दा जुनसुकै जिल्लाबाट पनि गर्न सकिने भएकाले नविकरणको विवरण अद्यावधिक हुन नसकेको मुद्धा शाखाका कर्मचारी रामचन्द्र गौतमले जानकारी दिनुभयो ।







