पर्वत, २२ फागुन
पर्वतको चार भञ्ज्याङ क्षेत्रका रुपमा परिचित फलेवास नगरपालिकाको वडा नं. ८ र ९ र महाशिला गाउँपालिकाका केही क्षेत्रलाई एग्रो टुरिजमको रुपमा विकास गर्ने उद्देश्यले अभियान सञ्चालन भएको छ । उक्त क्षेत्रबाट बैदेशिक रोजगारीका शिलशिलामा हंङकङ, बेलायत लगायतका क्षेत्रका गएका स्थानीय प्रवासीहरुले अभियान सञ्चालन गरेका हुन् ।

शिक्षा, स्वास्थ्य, कृषि, वातावरण र पर्यटन लगायतका विषयलाई अवधारणाका रुपमा अघि सारेर अभियान सञ्चालन गरेको चारभञ्ज्याङ तमु समाजले परियोजना नै निर्माण गरेर पछिल्लो समय कृषि सँगै एग्रो टुरिजमको अवधारणा अबलम्बन गर्ने तयारीमा रहेको हो । अवधारणालाई लागु गर्न निर्माण गरिएको चार भञ्ज्याङ क्षेत्र विकास परियोजना अन्तर्गत अहिले पर्वतको फलेवास नगरपालिका ९ भंगरा , ८ ठानामौला ,महाशिला गाउपालिका ६ फलामखानी र महाशिला गाउँपालिका ५ लामे क्षेत्रमा अभियान सञ्चालन गर्ने भएको छ ।
चारभन्ज्याङ क्षेत्र विकास आयोजना अन्र्तगत कृषि र पर्यटन सम्वन्धि कार्यक्रम संचालन गर्नका लागि चारभन्ज्याङ तमुसमाज यूकेको समन्वयमा पर्वत चारभन्ज्याङ सेवा केन्द्रको आयोजनामा हालै अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गाउँ बस्तीहरु शहरीकरणको खोजिमा खाली हुँदै गएपछि गाउँबासीहरुलाई गाउँमा नै रमाउने बनाउने मुख्य उद्देश्यका साथ एग्रो टुरिजमको अवधारणा अघि सारिएको चार भञ्ज्याङ तमु समाज यूकेका अध्यक्ष मदन गुरुङले बताउनुभयो । उहाँले यस अघि विद्यालयका जिणर् भवन हरु निर्माण गर्ने र अत्याधुनिक प्राविधिक शिक्षा सञ्चालनका लागिथ समेत सहयोग गरिसकेको स्मरण गराउँदै पर्वत जिल्लामा नै पहिलोपटक परियोजना अन्तर्गत टेलिमेडिसिन सेवा सञ्चालन गरेको कुरा जानकारी दिनुभयो । समाजको पहलमा निर्माण भएको टेलिमेडिसिनमा अहिले दैनिक ५० देखि १ सय जना सम्म विरामीहरले सेवा लिइरहेका छन् ।
चारभञ्ज्याङ तमु समाज युकेका पुर्व अध्यक्ष चन्द्र गुरुङले गाउँको विकासका लागि आफुहरु गास काटेर जम्मा गरेको रकम र विभिन्न प्रतियोगितामा सहभागी भएर प्राप्त पुरस्कार रकमलाई समेत परिचालन गरेर गाउँको विकासमा लगानी गरिएको बताउनुभयो ।
फलेवास नगरपालिका प्रमुख पदमपाणी शर्माले चारभन्ज्याङ तमुसमाज यूकेवाट फलेवास नगरपालिका र महाशिला गाउपालिका का विभिन्न वडामा संचालन गरेका कार्यक्रमहरुले समुदायका विपन्न वर्गहरुले प्रतक्ष सेवा पाएको वताउदै विदेशमा रहेर पनि यस क्षेत्रमा सहयोग पुर्याएकोमा धन्यवाद व्यक्त गर्नुभयो । प्रमुख शर्माले नगरपालिका सँग चार भञ्ज्याङ विकास परियोजनाले सकरात्मक परिवर्तनका लागि सम्झौता गर्न तयार रहेको समेत बताउनुभयो ।

पर्वत जिल्ला फलेवास नगरपालिका का वडा नं ८ र ९ र महाशिला ६ र ५ मा स्थायी घर भै हाल विदेशमा रहेका गूरुङ समुदायहरुले आफ्नो गाउको विकास र समृद्धिका लागि चार भन्ज्याङ तमु समाज मार्फत विभिन्न सामाजिक कार्यहरु संचालन गर्दै आएका छन् । समाजले उपलब्ध गराउने सुविधाहरु सवै जाती तथा विपन्न समुदायको लागि गर्दै आएको समाजका संस्थापक अध्यक्ष नारायणप्रसाद गूरुङले जानकारी दिनुभयो ।
एग्रो टुरिजम अभियान अन्तर्गत हाल समाजले उच्च मूल्यमा विक्रि गर्न सकिने फलफुल लगायत आधुनिक कृषि प्रविधिको विकास तथा पर्यटन प्रवद्र्धन कार्यक्रम अघि सारेको छ । अभियान सञ्चालनको पुर्व तयारी अनुरुप चार भञ्ज्याङ क्षेत्रका फलामखानी, जलजला, चिसापानी, थाम्मेथुम, देविस्थान लगायतका ७ सय मिटर उचाई देखि करिव २ हजार मिटर उचाई सम्मको दुरीमा माटो परिक्षण समेत गरिएको छ । योजना विज्ञ डाक्टर योगेन्द्र रिजालले यस क्षेत्रमा ओखर खेतीलाई मुख्य खेतीका रुपमा प्रबद्र्धन गर्ने गरी परीक्षण गरिएको र उक्त ओखर खेतीको सम्भाव्यता रहेको बताउनुभयो ।

कार्यक्रममा कृषि विज्ञ निलकन्ठ शर्माले विभिन्न क्षेत्रमा पुगेर तयार गरेको फलफुल खेती सम्भाव्यता प्रारम्भिक अध्ययन प्रतिवेदन पेश गर्नुभएको थियो । चारभन्ज्याङ सेवा केन्द्र पर्वतका अध्यक्ष डम्मर व गूरुङको अध्यक्षतामा संचालन भएको कार्यक्रमको संचालन केन्द्रका सचिव डिल व वि.कले गर्नुभएको थियो ।









