पर्वत, २३ मंसिर
आत्महत्या दुरुत्साहनको आरोपमा पर्वत जिल्ला अदालतमा मुद्धा खेपिरहेका मृतकका पति र सासुलाई पर्वत जिल्ला अदालतले दुई बर्षपछि सफाई दिएको छ । ०७६ भदौमा बागलुङमा विवाह गरेकी पर्वत जलजला गाउँपालिका-५ लेकफाँट गैरागाउँ माइती भएकी १८ वर्षीया बिजु जिसी मृत फेला परेपछि आत्महत्या दुरूत्साहन गरेको आरोपमा प्रहरीले ०७६ कात्तिक ३ गते मृतकका पति ३४ वर्षीय असिम खड्का र सासु ५५ वर्षीय देवी खड्कालाइ गिरफ्तार गरेको थियो ।
मृतककी आमा कमला जिसीले परिवारले मर्न बाध्य बनाएको भन्दै दुरुत्साहन मुद्धा पर्वत जिल्ला अदालतमा दर्ता गराएकी थिइन् । जिसीले २०७६ कार्तिक २६ गते छोरीका पति असिम र सासु देवी खड्काको विरुद्धमा मुद्धा दर्ता गरेकी थिइन् । पर्वत जिल्ला अदालतका जिल्ला न्यायधिश बलराम त्रिपाठीको इजलासले विहिबार आरोपितलाई अभियोग दाबी नपुग्ने भन्दै सफाई दिएको फैसला सुनाएको हो ।
पर्वत जिल्ला अदालतले मुद्धा दर्ताको समयावधि देखि हालसम्म १७ पटक सम्म मुद्धा पेशीमा चढाउँदै विहिबार दावी नपुगेको फैसला सुनाएको हो । यस अघि पर्वत जिल्ला अदालतले मुद्धा दर्ता भएकै दिन आरोपित दुवै जनालाई जनही ४ लाख रुपैँया धरौटी मागेर मुद्धा अनुसन्धानको प्रक्रिया अघि बढाएको थियो ।
मृतक जिसीले ०७६ भदौ २ गते बागलुङ नगरपालिकाको गुठी बस्ने खड्कासँग प्रेम विवाह गरेकी थिइन् । विवाहपछि परिवारले अस्वीकार गरेको र परिवारकै यातनाका कारण घर छाडेर हिँडेको भनेर मृतककी ३८ वर्षीया आमा कमला जिसीले जिल्ला प्रहरी कार्यालय, पर्वतमा असोज ३० गते मृतकका सासू र पतिविरूद्ध उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा मुद्धा अनुसन्धानका लागि कानुनी प्रक्रियामा प्रबेश गरेको थियो ।







