पर्वत ९ मंसिर
पर्वतमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । सामाजिक विकास कार्यालय पर्वतको आयोजना तथा इन्सेक, गैर सरकारी संस्था महासंघ पर्वत, सोडेक नेपाल, गुडनेवर्सको सहकार्यमा पर्वतमा अभियान शुरु भएको हो ।
विहिबार प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले अभियानको शुभारम्भ गर्नुभएको हो । ‘खत्रीले लैंगिक हिंसा हुन दिने छैनौ, हिंसा भएको थाहा पाए सम्बन्धित निकायमा उजुरी गर्ने छौँ’ भन्ने लेखिएको व्यानरमा हस्ताक्षर गर्दै अभियानको शुभारम्भ गर्नुभएको थियो । अभियानका क्रममा पर्वतका विभिन्न कार्यालयका प्रमुख एवं कर्मचारी सहित सुरक्षाकर्मी र मानवअधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

१६ दिन सम्म सञ्चालन हुने अभियानमा पर्वतका विभिन्न ७ वटा स्थानीय तहहरु, जिल्ला प्रहरी कार्यालय पर्वतको समुदाय साझेदारी कार्यक्रम र सामाजिक विकास कार्यालय तथा जिल्लाका अधिकारसम्बद्ध संघ संस्थाहरुले आ आफ्नो क्षेत्रबाट कार्यक्रमहरु सञ्चालन गर्ने र अभियानलाई सफल पार्ने कार्यक्रम रहेको सामाजिक विकास कार्यालय पर्वतका प्रमुख मोहन चन्द्र पौडेलले जानकारी दिनुभयो ।
अभियान सञ्चालनका लागि शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले समेत सहयोग गरेको छ । पर्वतको समग्र तथ्याङ्क अनुसार परिवारबाटै पिडित हुने महिलाहरुको संख्या दिनानुदिन बढ्दै छ भने कतिपय अवस्थामा पुरुषहरु पनि महिलाहरुबाट पिडित भएका उजुरीहरु प्रहरी र अदालतमा आउने गरेका छन् । विशेषत बाल यौन दुव्र्यबहार र महिला यौन दुव्र्यबहारका उजुरीहरु पनि पर्वतमा बढी रहेका छन् ।
प्रमुख जिल्ला अधिकारीले विहिबार आयोजित प्रभात फेरि पश्चात् १६ दिन सम्म सञ्चालित अभियानलाई सफल बनाउन सवै आ आफ्नो क्षेत्रबाट लाग्न आग्रह गर्दै अभियानलाई अभियानकै रुपमा मात्रै सिमित नबनाई सामाजिक विकृति उन्मुलन सँगै लैङ्गिक हिंसा मुक्त समाज निर्माण बनाउन सवैको उत्तिकै भूमिका रहेको बताउनुभयो ।







