पर्वत, ९ मंसिर (साँझ ६ बजे)
पर्वतमा नेपाली काँग्रेसको मतगणना जारी रहेको छ । मंगलबार देखि शुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत मतदान प्रक्रिया सकिए मतगणना शुरु भएपनि विहिबार बेलुका सम्म गणना कार्य सम्पन्न भएको छैन ।
मतगणना प्रक्रियामा महिला महाधिवेशन प्रतिनिधिको विषयमा मतपत्रमा विवाद भएपनि बुधबार दिउँसो देखि मतगणना स्थगित भएको थियो । स्थगित भएको मतगणना कार्य विहिबार विहान ७ बजेबाट शुरु गर्ने भनिएपनि लामो समय सम्म सुचारु हुन नसकेपछि विहान १० बजेपछि मात्रै मतगणना शुरु भएको थियो ।
मतगणना क्रममा शुरु देखि नै अग्रता कायम गर्दै आएका सभापतिका प्रतिस्पर्धी युवराज जोशी पछिल्लो ६ सय ८५ मत गणनामा निकटम प्रतिद्वन्दी यामबहादुर मल्ल रामकृष्ण भन्दा ९२ मतले अगाडि रहेका छन् । जस अनुसार जोशीको ३ सय ५३ रहेको छ भने मल्लको २ सय ६१ मत रहेको छ । अर्का प्रतिस्पर्धी मिलन पौडेलले ५६ मत प्राप्त गरेका छन् । अन्य पदाधिकारीमा पनि युवराज जोशी प्यानलकै उम्मेदवारहरुको अग्रता रहेको छ । उता महाधिवेशन प्रतिनिधिमा भने गणना कार्य ढिलाई भएका कारण यथेस्ट परिणाम बाहिरिएको छैन ।
जम्मा खसेका १ हजार १ सय ८६ मत मध्ये झण्डै ५ सय मत अझै गणना गर्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । पर्वतमा केन्द्रीय राजनीति भन्दा फरक तबरबाट प्यानल बनेर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अहिले सभापतिमा उम्मेदवार भएका तीनै जना उम्मेदवार देउवा पक्षधर मानिन्छन् । जिल्लामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी पक्षधर मानिने युवराज जोशी र नवराज गुरुङ सहित देउवा पक्षका पुराना नेताहरुको समर्थनमा मल्ल उम्मेदवार बनेका हुन् ।









