पर्वत ९ मंसिर
जिल्ला कारागार पर्वतमा कैदी बन्दीका लागि पुस्तकालय स्थापना गरिएको छ । लायन्स क्लव अफ गुप्तेश्वर पर्वतले पुस्तकालय स्थापना गरेको हो । जिल्ला प्रशासन कार्यालय पर्वत, जिल्ला प्रहरी कार्यालय पर्वत, जिल्ला कारागार पर्वत लगायतको समन्वय तथा जिल्लामा सक्रिय लायन्स क्लवहरुको सहकार्यमा पुस्तकालय स्थापना गरेको हो ।
क्लवले आफ्नो बार्षिक कार्ययोजना अन्तर्गत कैदिबन्दीहरुमा सकारात्मक सोच र अध्ययनप्रति रुचि जगाउने उद्देश्यका साथ कारागार पुस्तकालय स्थापना गरिएको क्लवका अध्यक्ष अर्जुन पौडेल निर्जनले जानकारी दिनुभयो । पुस्तकालय स्थापना कार्यक्रममा लायन्स क्लवका डिस्ट्रिक गभर्नर बिशेश्वर आचार्यले क्लवको स्थापनाको मुख्य उद्देश्यलाई मध्यनजर गर्दै कारागारमा पुस्तकालय स्थापना गरिनु गौरबको कुरा भएको बताउनुभयो । उहाँले क्लवलाई थप सक्रियता दर्शाएर सामाजिक कार्यमा लाग्न र क्लवको नारा खुशीका लागि सेवा भन्ने भावनालाई जागृत गर्न सुझाव समेत दिनुभएको थियो ।
क्लवले करिव तीन लाखको लागतमा पुस्तकालय स्थापना गरेको हो । झण्डै २ लाख ५० हजार बराबरका ४ सय ५० थान पुस्तकहरु, र अन्य फर्निचर सामग्रीहरु उपलब्ध गराइएको छ । पुस्तकालय स्थापनाका लागि धेरै सहयोग दाताहरुबाट पुस्तक र फर्निचर सामग्री सौजन्य प्राप्त भएको अध्यक्ष निर्जनले बताउनुभयो ।
क्लवका सचिव गणेश पौडेलले सञ्चालन गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री, लायन्स क्लवका क्याबिनेट सेक्रेटरी दुर्गाप्रसाद हुमागाइ, लायन लिडर वसन्त कुमार कर्माचार्य, अर्जुनप्रसाद चापागाईं र हरिओम शर्मा लामिछाने लगायतले बोल्नुभएको थियो ।
पर्वत कारागारमा अहिले ९० जना भन्दा बढी कैदी बन्दीहरुले जेल जीवन विताइरहेका छन् ।







