सन्तोष थापा/पर्वत, ४ भदौ ।
पर्वत उद्योग बाणिज्य संघले कोरोना विरुद्धको खोप नलगाएका व्यवसायीहरुलाई नामवली दर्ता गराउन आह्वान गरेको छ । संघले विहिबार र शुक्रबार कुश्मा बजार लगायत अन्य विभिन्न उपशाखाहरु मार्फत जिल्लाका अन्य स्थानमा प्रचारप्रसार गरी खोप नलगाएका व्यवसायीहरुलाई नाम दर्ता गराउन आह्वान गरेको हो ।
संघको आह्वानमा विहिबार र शुक्रबार मात्रै झण्डै ७ सय व्यवसायीले खोप लगाउनका लागि आवेदन दिएका छन् । यस अघि करिव १ हजार व्यवसायीले खोप लगाइसकेको र खोप लगाउन छुटेका व्यवसायीहरु क्रमश खोपको दायरामा ल्याएर खोप लगाउने प्रयास गरिएको उद्योग बाणिज्य संघ पर्वतका अध्यक्ष गोपी अधिकारीले जानकारी दिनुभयो ।
संघले जिल्ला प्रशासन कार्यालय पर्वतको समन्वयमा यस अघि अत्यावश्यक सामग्री विक्रेताहरुलाई खोप लगाउनका लागि पहल गरिसकेको छ भने छुटेका व्यवसायीहरुलाई नाम दर्ता गराउन आह्वान गरेको थियो । उक्त आवेदन दर्ता अभियान अन्तर्गत शुक्रबार मात्रै झण्डै ४ सय जनाले खोप लगाएका छन् । अन्य व्यवसायीहरुको क्रमिक रुपमा पालो अनुसार खोप प्रदान गरिने अध्यक्ष अधिकारीले जाानकारी दिनुभयो ।
कोभिड १९ का कारण व्यापार व्यवसाय समेत धरासय बनेको र खोप समेत लगाउन नपाउँदा व्यवसायीहरु चिन्तित बनेको कारण खोपका लागि पहल गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।









