पर्वत, ३ भदौ ।
फोटो ग्राफर संघ पर्वतले विश्व फोटोग्राफी दिवसको अवसर पारेर मृगौला पिडित बालकहरुलाई सहयोग गरेको छ । संघले कुश्मा नगरपालिका वडा नं. ५ निवासी दिप्सन कुमाल र दिप कुमालको पालन पोषण सँगै मृगौला पिडितका लागि आर्थिक सहयोग गरेको हो ।
यी दुई बालक आमा र बाबुको मायाबाट बञ्चित भएपछि अहिले ठूलाबुवा नारायण कुमालको संरक्षणमा रहेका छन् । संघले एक कार्यक्रमको आयोजना गरी ७ हजार ५ सय नगद रकम सहयोग गरेको हो ।
सो सँगै संघले विश्वकै अग्लो स्वीङ र विश्वको दोश्रो अग्लो बञ्जिजम्पमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रम समेत सञ्चालन गरेको थियो । शुभकामना आदनप्रदान कार्यक्रममा पर्वत फोटोग्राफर संघले जिल्लाको पर्यटनलाई प्रबद्र्धन गर्न संघका सदस्यहरुको अहम भूमिका रहेको ठहर गर्दै कोरोनाको कहरमा पनि आफ्नो कर्तव्यमा निरन्तर लाग्न सवै सक्रिय हुनुपर्ने निष्कर्ष निकालेको संघका कोषाध्यक्ष सुरेश रेग्मीले जानकारी दिनुभयो । संघका अध्यक्ष नारायण केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव विजय शर्माले गर्नुभएको थियो ।









