पर्वत ३ भदौ । जलजला गाउँपालिकाका अध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले साथीभाईको सहयोगको लागि साक्षी बसेकै आधारमा लेनदेन मुद्दा दर्ता गरि कास्की जिल्ला अदालतबाट गरिएको फैसला र केही अनलाइन सञ्चारमाध्यममा आएका समाचारले आफूमाथि घोर अन्याय भएको वताएका छन् ।
उनले आफूले सामाजिक र राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको डाह गर्नेहरूले नियोजित रूपमा फसाउन खोजेको आरोप समेत लगाए ।
शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष मल्लले वास्तवमै लेनदेनको विषयमा सत्संगत र साथीभाइ हरुलाई अप्ठ्यारो परेको बेला साक्षी जमानी बस्ने कुरा पिता पुर्खाकै पालादेखि चलिआएको र आफूपनि १०/१२ बर्ष पहिले धौलागिरि अञ्चल यातायात बस व्यवसायी समितिको सदस्य भएको बेला बाग्लुङ जिल्ला निवासी राजेश बोहराले खरिद गरेको फोर्स कम्पनीको मिनी बसको साक्षी बसेको वताउँदै त्यही साक्षीको आधारमा आफूमाथि मुद्दा दर्ता भएको जानकारी दिए । ’साक्षी बसेर गरेको लेनदेन व्यवहार यति लामो समयसम्म मिल्यो वा मिलेन भन्ने कुरा कुनै जानकारी नभएको र म पनि यो बीचमा विभिन्न सामाजिक तथा राजनीतिक कामको उल्झनले गर्दा त्यतापट्टि ध्यान दिन पनि नसकिएको उनले बताए ।
‘तर पछिल्लो समय मलाई दोषी करार दिएर जिल्ला अदालतले जुन फैसला गरेको छ त्यो फैसलाले मलाई नै आश्चर्यमा पारेको छ ।’- अध्यक्ष मल्लले भने । उनले आफूविरुद्ध परेको मुद्दाको आफूलाई नै कुनै जानकारी समेत नभएको दावी गरे । ‘प्राकृतिक न्यायको सिद्धान्त अनुसार मैले उक्त मुद्धाको प्रतिउत्तर समेत लगाउन पाइन, यो बिषयले मलाई निकै दुखित बनाएको छ ।’- मल्लले भने । वास्तवमा त्यो बसको फाइनान्स नबिल बैंकले गरेको र बसपनि मल्लको नाममा नभइ हिमालयन इन्भेस्टमेन्ट नामक अटोमोबाइल कम्पनीकै नाममा रहेको समेत पाइएको छ ।
अध्यक्ष मल्लले आफूले अहिलेसम्म कसैलाई एक रुपैयाँ पनि नठगेको बताउँदै २०६८ सालमा राजेश बोहराले फोर्स गाडी निकाल्दा जवानी बसिदिएको र बोहराले पैसा तिर्न नसकेपछि आफैले तिरिदिएको बताए ।
मल्लले आफुमाथि अन्याय भएको भन्दै थप कानुनी अधिकार प्राप्तिका लागि कदम चाल्ने र आफु माथि षड्यन्त्र गर्न खोज्ने विरुद्ध हिसाब लिने बताए ।
नेपाली काँग्रेस पर्वतको कोषाध्यक्ष समेत रहेका मल्लले आगामी १४ औँ अधिवेशनमा सभापतिका दावेदार हुन् । सभापतिको दाबा गरिरहेकै सन्दर्भमा आफ्नै भित्रबाट अनर्गल कुराहरु खोतल्ने र बाहिर ल्याउने प्रयास भइरहेको उनले जिकिर गरे । जो सुकैले जे भनेपनि आफु जनताको निरन्तर सेवामा लागिरहेको र भोलिका दिनमा जनता र जिल्लाबासीको मायाले लक्ष्य प्राप्ति गरेरै छाड्ने उनले बताए ।








