पर्वत १३ साउन
अविरल बर्षाका कारण सडकमा जोखिम बढ्दै गएपछि कुश्मा नगरपालिकाको कार्यालय पर्वतले जिल्ला प्रशासन कार्यालय र जिल्ला स्थित सुरक्षा समितिमा जोखिम हटाएर सहज यात्रा गर्ने वातावरण सिर्जना गर्न माग गरेको छ ।
कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जिल्ला स्थित सुरक्षा समितिका पदाधिकारी र प्रमुख जिल्ला अधिकारी समक्ष जोखिम हटाउनका लागि माग गरेका हुन् । यस अघि जेष्ठ र असार महिनामा मात्रै मध्यपहाडी लोकमार्गको कास्की नयाँपुलको सिमानादेखि बागलुङ पर्वतको सिमाना मालढुंगासम्म झण्डै १५ दिन सडक अबरुद्ध भएको थियो । सडकमा झण्डै १ सय मिटर माथिबाट ढुंगा खसेर अबरुद्ध भएपछि जिल्ला सुरक्षा समितिको बैठकले निणर्य गरी विष्फोटक पदार्थ नै प्रयोग गरी ५ दिन पछि मात्रै सडकको अबरुद्ध हटाएको थियो । कुश्मा नगरपालिका ४ स्थित मध्यपहाडी लोकमार्गको अर्मादी खण्डमा उक्त अबरुद्ध भएको थियो । तत् पश्चात् सोही सडक खण्डमा करिव १ सय मिटर माथि नै ठूलो आकारको ढुंगा खस्ने अवस्थामा रहेको र बर्षा भइरहेको बेला सडकमा यात्रा गर्न समेत जोखिम भएकाले उक्त जोखिम विष्फोटक पदार्थ नै प्रयोग गरेर हटाउन अनुरोध गरिएको नगर प्रमुख जोशीले बताउनुभयो ।
त्यस्तै कुश्मा नगरपालिका ८ चुवा भिरमा समेत जोखिमयुक्त अवस्थामा रहेको ढुंगा हटाउनका लागि सम्बन्धित निकाय सँग अनुरोध गरिएको जोशीले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जोखिमयुक्त अवस्थामा रहेका सडक स्थानहरुमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु स्थलगत रुपमा अवलोकन गर्ने र आवश्यक निणर्य गर्ने बताउनुभयो ।
मनसुन जन्य विपद्का कारण पर्वतमा यस बर्ष १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् । कुश्मा नगरपालिका ८ स्थित सुन्दरेखोलामा बाढी आउँदा मध्यपहाडी लोकमार्गमा कार्यरत सवारी चालक इन्द्र चौधरीको मृत्यु भएको हो भने मध्यपहाडी लोकमार्गको निर्माण जिम्मा लिएको लामा कन्ट्रक्सनका साइड इञ्चार्ज राजाराम आचार्य बेपत्ता भएका छन् ।









